आठ वर्ष दक्षिण कोरियामा कफी प्रशोधन उद्योगमा काम गरेका पाल्पा रामपुर नगरपालिका–५ का प्रेमबहादुर सिंहले गाउँ फर्किएर कफीखेती गरिरहेका छन्। उनले कफी प्रशोधन उद्योग पनि स्थापना गरेका छन्।
रामपुर– कुनै समय घरका आँगन र डिलमा सौखका रूपमा कफी लगाइन्थ्यो। बिक्री गर्न नभई घर वरपरको वातावरण सुन्दर र हरियाली बनाउन गाउँघरमा सबैका घरमा दुई–चार बोट लगाउने चलन थियो। कफीको महत्त्व राम्रोसँग थाहा नहुँदा त्यसै खेर जान्थ्यो।
हिजोआज भने कफीतर्फ आकर्षण बढ्दै गएको छ। पाल्पाको रामपुर नगरपालिका–५ भम्बकका प्रेमबहादुर सिंहले व्यावसायीक रूपमा कफीखेती थालेका छन्। आठ वर्ष दक्षिण कोरिया बसेर फर्किएका उनी कफीखेतीमा रमाइरहेका छन्। कोरियामा कफी कम्पनीमा काम गरे। कफी उत्पादन, प्रशोधन र बजारीकरणका सीप सिकेपछि अहिले गाउँमा व्यवसाय गर्न सजिलो भएको उनले बताए।
गुल्मीमा उत्पादन भएको कफी कम्पनी सञ्चालकले ‘हिमालयको गिफ्ट’ नामले प्रशोधन गरी बजारमा बिक्री गरेको देखेपछि गाउँ फर्केर आफ्नो देशको उत्पादन आफैँले बिक्री गर्ने अठोट लिएको सिंह बताउँछन्। “हाम्रो देशमा उत्पादन भएको कफी विदेशीले महँगो मूल्यमा ब्रान्ड बनाएर बजारमा बिक्री गरिरहेको छ,” उनले भने, “सीप र प्रविधि नहुँदा नेपाली उत्पादन विदेशीले प्रशोधन गरी बजार पठाएका छन्। आफ्नो उत्पादन आफैँ प्रशोधन गरी बजार पठाउने योजना छ।”
नेपालमा उत्पादन भएको कफीको स्वाद बेग्लै पाएको उनले बताए। कफी उत्पादन, खरिद बिक्री मात्र नभई ग्राहकको मागअनुसार बिरुवासमेत बिक्री गर्छन्। बरमुन अर्मिलो, भर्बिलो, गेइसिया जातका कफी लगाएका छन्। स्थानीय उत्पादन भएकाले ग्राहकले धेरै मन पराएका छन्। “विदेश सिकोको सीप र अनुभवयहाँ लगानी गरेको छु। उत्पादनदेखि प्रशोधनका प्रविधिको ज्ञान भएकाले काम गर्न धेरै सजिलो भएको छ,” उनले भने। उनले गुल्मीबाट बीउ ल्याएर खेती थालेका हुन्। स्याङ्जाको चापाकोट नगरपालिका–४ लग्दाहामा सात वर्षअघि ५०० बोट बिरुवा लगाए। सो बिरुवाले हाल उत्पादन दिइरहेका छन्।
उनी कफी खरिद बिक्रीसमेत गर्छन्। स्याङ्जाको वालिङ, जगत् भन्ज्याङमा उत्पादन भएका कफी खरिद गरेर पाल्पा रामपुरमा प्रशोधन गरी बाहिर पठाउँछन्। ‘अर्ग्यानिक चिया तथा कफी’ उद्योग घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा दर्ता गरेका छन्। आफ्नै घरमा प्रशोधन मेसिन जडान गरी बजारीकरण गरेपछि राम्रै आम्दानी हुन थालेको छ।
गत वर्ष मात्रै आफ्नै बारीमा एक हजार ८०० किलो कफी उत्पादन भएको र २८ टन कफी खरिद बिक्री गरेको उनले सुनाए। “एक हजार ६०० किलो कफी जापान, २५ किलो जर्मनी, सात किलो भारत, छ किलो कोरियालगायत देश पठाएँ। आठ लाख बराबरको कारोबार भएको थियो,” उनले भने, “यस वर्ष १० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्ने योजना छ।” प्रशोधन गरिएको कफी प्रतिकिलो एक हजार ८०० रुपैयाँमा बिक्री हुने गरेको छ।
कफी खेतीलाई व्यवसायीकरण गर्न उनले आफैँ उत्पादन गरेको एक हजार बिरुवा स्थानीयलाई निःशुल्क वितरण गरेका छन्। यस वर्ष रामपुरमा कफी रोप्ने तयारी रहेको सुनाए। भन्छन्, “अर्काको देशमा काम गर्न सजिलो छैन। आफ्नै देशमा बसेर व्यवसाय गर्दाको आनन्द नै बेग्लै छ।” घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले अनुदानमा प्रशोधन गर्ने मेसिन दिएको छ। जापानबाट माग धेरै आएको उनले सुनाए।
कफी उत्पादनका लागि सातवटा प्रशोधन मेसिनको राखेका छन्। व्यवसायमा १० लाख बराबरको लगानी भएको छ। नेपालका ४० वटा मध्यपहाडी जिल्लामा कफीखेती गरिएको तथ्यांक छ।
पाल्पा, स्याङ्जा, पर्वत, अर्घाखाँची, कास्की, लमजुङ, तनहुँ, गोरखा, ललितपुर, धादिङ, मकवानपुर, म्याग्दी, सिन्धुपाल्चोक, काभ्रेलगायत जिल्लामा विस्तार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
