संघीय संसद्का दुवै सदनको बैठक बस्दै

संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक मध्यान्ह १२ः३१ बजेबाट तथा प्रतिनिधिसभाको बैठक १ बजेबाट शुरू हुने कार्यक्रम रहेको छ।

काठमाडौँ- संघीय संसद्अन्तर्गत सोमबार दुवै सदनको बैठक बस्दैछ। 

राष्ट्रियसभाको आजको बैठक मध्यान्ह १२ः३१ बजे शुरू हुनेछ। राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको बेहोरा जानकारी गराउने कार्यक्रम छ। 

त्यस्तै, राष्ट्रियसभाअन्तर्गत गठित विषयगत समितिमा सदस्यहरूको नाम मनोनयन गर्ने, विधायन व्यवस्थापन समितिका सभापति डा. वेदुराम भुसालले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०७८/०७९ सभा समक्ष पेस गर्ने, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन मूल्यांकन प्रतिवेदन, २०७९ सभा समक्ष पेस गर्ने कार्यसूची छ। 

दलित समुदायका विभेद र उत्पीडनहरूको अन्त्य गरी सामाजिक सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धमा भुवनबहादुर सुनार प्रस्तावक र सुरेशकुमार आले मगर, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, नरपति लवार, सिंहबहादुर विश्वकर्मा, जगतबहादुर पार्की, राधेश्याम पासवान, जगप्रसाद शर्मा, प्रमीलाकुमारी, प्रकाश पन्थ, देवेन्द्र दाहाल, भगवती न्यौपाने, जयन्तीदेवी राई, तारामान स्वाँर, विमला घिमिरे, मायाप्रसाद शर्मा, गंगाकुमारी बेलवासे समर्थक भई दर्ता भएको संकल्प प्रस्तावका सम्बन्धमा छलफल हुने कार्यसूची राष्ट्रियसभाको छ। 

त्यस्तै, दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको यो बैठक जनता समाजवादी पार्टी, नेपालबाट समानुपातिक तर्फबाट २०७९ सालको प्रतिनिधिसभामा निर्वाचित सदस्य एवं वञ्चितिकरणमा परेका समुदायको सशक्तीकरणमा नेतृत्वदायी भूमिका निभाएकी शहनाज रहमानको निधन भएकोमा उनको निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जलि व्यक्त गर्ने कार्यसूची रहेको छ।