सुवास नेम्बाङ भन्छन्– मेरो नाममा नै राष्ट्रिय सहमति हुनसक्छ

राष्ट्रपतिका लागि उम्मेदवारी दिँदै नेम्बाङले आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वास लिएको बताएका छन्।

काठमाडौँ– नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवास नेम्बाङले आफ्नो नाममा राष्ट्रिय सहमति हुने सम्भावना रहेको बताएका छन्। शनिबार राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेम्बाङले स्वस्थ प्रतिस्पर्धालाई सम्मान गर्ने धारणा  राखे। 

‘सबैलाई म सम्मान गर्छु। त्यही सम्मान गर्ने आधार हामीले संविधान बनाएर गरेका छौँ,” उनले भने, “मेरो नाममा पनि राष्ट्रिय सहमति हुनसक्छ। त्यही विश्वास भएर नै उठेको हुँ।”

 “नयाँ संविधान बनाएर जनताको छोराछोरी राष्ट्रपति हुने व्यवस्था गरेका छौँ। व्यवहारमा जनताको राष्ट्रपति अनुभूत हुने ढंगले काम गर्ने मेरो प्रयास हुनेछ,” उनले भने, “हिजो संविधानसभामा रहँदा ३१ वटा राजनीतिक दलहरूको सर्वसम्मत अध्यक्ष भएर संविधान जारी गर्न भूमिका निर्वाह गरेँ। संविधानको संरक्षक हुने अवसर पाएको छु।” उनले आठ दलीय गठबन्धनका विषयमा कुनै टिप्पणी गर्न चाहेनन्।