केपी ओली कप : एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा

आर्मीले फाइनल प्रवेशका लागि आइतबार सातदोबाटो युवा क्लबको सामना गर्नेछ। 

काठमाडौँ– न्यूरोड टिम (एनआरटी)लाई टाइब्रेकरमा पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार सन्पन्न खेलमा एनआरटीलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो। निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए। त्यसपछि खेलको छिनोफानो टाइब्रेकरमार्फत् गरिएको थियो।

टाइब्रेकरमा एनआरटीका जान एनबोमी, लाल्मिन्जामा, निकोलस संग र विक्रम धिमालले गोल गरे। आर्मीका गोलरक्षक विकेश कुथुले स्टेफन जुनिअरको फितलो प्रहार भने बचाए। यता, आर्मीका जगजित श्रेष्ठ, टेकबहादुर बुढाथोकी, विकास खवास, दीनेश हेन्जन र नवयुग श्रेष्ठले गोल गरे।

त्यसअघि एनआरटीका लागि भारतीय खेलाडी लाल्मिन्जामाले गोल गरेका थिए। आर्मीले उपहार गोल पाएको थियो। खेलको ३२औँ मिनेटमा दीपेश आले मगरले दिएको पासमा उनले डिफेन्स लाइन बिट गरेर टप कर्नरमा गोल गरे।

दोस्रो हाफमा आर्मीका जगजित श्रेष्ठको फ्रिकिकमा दीपक गुरूङले गरेको हेडर पोस्टमा लागेको थियो। उक्त बल बचाउने क्रममा एनआरटीका कप्तान विक्रम धिमाललाई लाग्दै गोल भएको थियो।

आर्मीले फाइनल प्रवेशका लागि आइतबार सातदोबाटो युवा क्लबको सामना गर्नेछ। बिहीबार भएको उद्घाटन खेलमा सातदोबाटोले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको थियो।