भारतीय सेनाबाट फर्किएर कुखुरा र कालिजपालन

रामपुर नगरपालिका–७ का तुलबहादुर थापाले २४ वर्ष भारतीय सेनामा बिताए। त्यसपछि गाउँ फर्किएर कुखुरा र कालिजपालन व्यवसाय थालेका थापा भन्छन्, “बजारको माग धान्न मुस्किल छ।” 

तस्वीर : रासस

रामपुर– २४ वर्ष भारतीय सेनामा बिताएका तुलबहादुर थापा कुखुरा र कालिजपालन व्यसायमा रमाइरहेका छन्। धेरै युवाहरूले गाउँ छाडिरहेका बेला थापाले भने गाउँमै बसेर काम गर्ने सोच बनाएका हुन्।

त्यसैले उनले स्थानीय जातका कुखुरा र कालिजपालन थालेका छन्। कालिजपालन यहाँका लागि नयाँ व्यवसाय हो। पुर्ख्यौली थलो रामपुर नगरपालिका–७ गोलैचे गाउँको भिरालो जमिनमा व्यवस्थित तार जालीले चारैतिर बन्देज गरेर दीर्घकालीन रूपमा सञ्चालन गर्ने उनको अठोट छ।

गत जेठमा ५०० कुखुरा र १७५ कालिजपालन शुरू गरेका थिए। हाल स्थानीय जातको कुखुरा प्रतिकिलो भाले ८०० रुपैयाँ, पोथी ७०० रुपैयाँ र कालिज प्रतिगोटा दुई हजार ५०० रुपैयाँमा बिक्री भइरहेको छ। “बजार मूल्य राम्रो छ। धेरैले स्थानीय जातको कुखुरा, कालिज खोज्ने भएकाले मागअनुसार पुर्‍याउन सकिएको छैन,” थापाले भने, “अब व्यवसाय विस्तार गर्ने योजनामा छु।”

उनले कालिजका लागि भिरालो, रुख, बिरुवासहितको चारैतिर तार जालीले घेरिएको खुला संरचना तयार पारेका छन्। यसले चरनका लागि, खेल्न, डुल्न धेरै सजिलो हुने र छिटो बढ्छन्। महँगो भए पनि कालिजमा आकर्षण बढ्दै गएकाले बुटवलबाट चल्ला ल्याएर फार्ममा हुर्काएर बिक्री गर्दा राम्रो कमाइ भएको थापाले बताए। रामपुर क्षेत्रका ग्राहकको माग धान्ने गरी तीन हजार ५०० कालिज पाल्ने तयारी छ।

“स्थानीय उत्पादनमा फरक स्वाद पाइने र स्वास्थ्यका लागि राम्रो हुने भएकाले हिजोआज स्थानीय कुखुरा, कालिज खरिद गर्ने धेरै छन्,” उनले भने, “व्यावसायिक फार्म कम छन्। गाउँको जग्गाको सदुपयोग गर्दा आम्दानी पनि भइरहेको छ। समय बिताउने माध्यम गज्जब लागिरहेछ।” व्यवसायसँगै सोखका रूपमा खरायो, लौकाट पनि पालेका छन्। कुखुराको तुलनामा रोग कम लाग्ने र दाना कम चाहिने भएकाले कालिजबाट बढी आम्दानी हुने उनको अनुभव छ। “यस क्षेत्रलाई कालिज हब बनाउने मेरो योजना छ,” उनले भने। १५ दिनको भएपछि चल्ला हुर्काउन कठिनाइ हुँदैन।

उनले आठ लाख रुपैयाँ लगानी गरेर व्यवसाय थालेका हुन्। यस क्षेत्रमा नयाँ व्यवसाय भएकाले अवलोकन जाने, खरिद गर्न जानेको चहलपहल छ। कुखुराको अण्डाबाट चल्ला निस्कन १८ देखि २२ दिन, कालिजको २५ देखि २६ दिन समय लाग्दछ। चल्ला निस्केको छदेखि सात महिनामा बेच्न लायकको हुने हुँदा छिटो फाइदा दिन सकिने थापाले बताए।

बाउ बाजेले भोगचलन गर्दै आएका पाखा पखेरा छाडेर शहर पस्ने क्रम बढ्दो रहेको समाजसेवी सन्दीप रानाको भनाइ छ। “युवाहरू विदेश जाने, घरपरिवारका सदस्य शहर बजारमा कोठा भाडामा बस्ने चलन बढ्दो छ। यसले गाउँ पछिल्लो समय रित्तिँदै गएको छ,” राना भन्छन्, “गाउँको रमणीय वातावरणमा बसेर पशुपंक्षीपालन, तरकारी खेती, होमस्टे ९घरबास० सञ्चालन गरेर महिनामा लाखौँ कमाउन सक्ने प्रशस्त आधार छन्।”

सरकारले नयाँ योजना ल्याएर काम गरेमा गाउँ छाडेर अन्यत्र बसाइँ गएका स्थानीय आफ्नै पुर्ख्यौली थलोमा फर्कनसक्ने उनको भनाइ छ।