विकासले रोकेन बसाइँसराइ, रित्तियो लाहुरेको गाउँ ‘आर्थर डाँडाखर्क’

हरेकजसो घरका ढोकामा लगाइएका ताल्चा र घरका भग्नावशेषले आर्थर डाँडाखर्क छाडेर जानेको संख्या अत्यासलाग्दो रहेको जनाउँछ। बसाइँसराइ ठूलो चुनौती बनेको वडाध्यक्ष रुद्रमोहन रिमालको भनाइ छ।

कुस्मा– सदरमुकाम कुस्मादेखि बसमा डेढ घण्टाको दूरीमा पुगिने सुन्दर र रमणीय गुरुङ गाउँ हो, आर्थर डाँडाखर्क। गाउँमा बिजुली, घरघरमा खानेपानीको धारो, अंग्रेजी माध्यमको पठनपाठन, स्तरोन्नति पर्खदै गरेको स्वास्थ्यचौकी र पक्की हुने क्रममा रहेको चाक्ला ग्राभेलिङ सडकले गाउँमा भौतिक विकास हुँदै गएको संकेत गर्छ।

तर, यति हुँदाहुँदै पनि गाउँमा मान्छे बस्न छाडेका छन्। हरेकजसो घरका ढोकामा लगाइएका ताल्चा र घरका भग्नावशेषले आर्थर डाँडाखर्क छाडेर जानेको संख्या अत्यासलाग्दो रहेको जनाउँछ। कतिपय  हङकङ, बेलायत, अमेरिका युरोपलगायत देशहरूमा परिवारसहित बस्न थालेका छन्। पोखरा, काठमाडौँ, चितवनजस्ता शहरमा गएर बसोबास गर्ने परिपाटी बढ्दै गएपछि गाउँ सुनसान बनेको स्थानीय सजना गुरुङले बताइन्।

“घरमा आमा र बुबा बस्नुहुन्छ। हामी दुई बहिनी पोखरातिर बस्ने गर्छौँ,” उनले भनिन्, “हाम्रा आफन्तको घर सबै रित्ता छन्। कतिपय घर भत्किसकेका छन्। अब, फेरि उनीहरू फर्केर गाउँ आउँछन् भन्ने चाहिँ लागेको छैन।” गाउँको बसाइँसराइ ठूलो चुनौती बनेको वडाध्यक्ष रुद्रमोहन रिमाल बताउँछन्। “मान्छेका आधारभूत आवश्यकता सबै पुगेका छन्, विकास निर्माणका काम पनि दिन प्रतिदिन बढी रहेकै छन् र पनि बसाइँसराइ रोक्न सकिएको छैन,” उनले भने, “लाहुरेको गाउँ भएकाले उनीहरूका सबै परिवार बाहिर जाने परिपाटी छ। यसले गाउँ रित्तो बनेको हो।”

टपक्क मिलेका छपनी, ढुंगाले छाएका लहरै मिलेको गाउँ, पुरानो मौलिक शैलीमा निर्माण गरिएका घुमाउने घर, कौसी, कोठी, बार्दली, धन्सार यी सबै यहाँका मौलिक विशेषता हुन्। गाउँको बाटो हुँदै ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको पञ्चासेको लेक पुग्न सकिन्छ। 

“कुस्मादेखि नजिकै भएर पनि यो गाउँ सुनसान भएको महसुस हुन्छ,” स्थानीय रुपा थापा गुरुङ भन्छिन्, “गाउँमा मान्छे बस्न छाडे पनि यहाँको २०० वर्ष पुरानो बौद्ध गुम्बा, गुरुङ समुदायको कला संस्कृति र ढुंगाका पुराना र घुमाउने घर समेटेर गुरुङ संग्रहालय बनाउन सकेमा बाहिरका मान्छेलाई गाउँमा आकर्षित गर्न सजिलो हुन्थ्यो भने गाउँ पनि रमाइलो बन्ने थ्यो।” आर्थरडाँडाखर्क पुर्खौली थलो भएकाहरूले पोखरामा समाज घर निर्माण गरेका छन्।

“विभिन्न ठाउँमा छरिएर बसेका आफन्तलाई जमघटका लागि सहजता प्रदान गर्न पोखरामा समाज घर बनाएका हौँ,” कुस्मा बस्दै आएकी स्मृति गुरुङले भनिन्, “सबै आफन्ती गाउँमा जान सक्ने परिस्थिति नभएको हुँदा जन्म, मृत्युदेखि बिहे भोज कार्यक्रम पोखरामा नै हुने गरेको छ।” पहिले गाउँमा हुने हरेक सामाजिक कार्यमा वरपरका मानिस जम्मा हुने तर अहिले कोही पनि नभएको ५० वर्षीया पार्वती गुरुङले सुनाइन्।

“कोही मर्‍यो भने नजिकको गाउँ रामजा, तिलहार, भुक्ताङले, ठानामौला, दुर्लुङका थुप्रो मान्छे यहाँ आउने गर्थे,” गुरुङले आफू किशोरावस्थामा हुँदाको स्मरण गर्दै भनिन्, “गाउँमा आएका पाहुनालाई प्रत्येकको घरमा सुत्ने र बस्ने व्यवस्था हुन्थ्यो। त्यो बेला केटीलाई केटाले पैसा खर्च गरेर खुवाउने चलन थियो। अहिले ती सबै कहानी भए। गाउँमा मान्छे देख्नै मुस्किल हुन थाल्यो।”