राष्ट्रपतिलाई ‘पावर सेयरिङ’का रूपमा लिने माधव नेपालको संकेत

एकीकृत समाजवादी अध्यक्ष नेपाल भन्छन्– पार्टीको धारणा के छ भन्दाखेरि, पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ।

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनलाई ‘पावर सेयरिङ’का रूपमा लिने संकेत गरेका छन्।

दाङको भालुबांगमा मंगलबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले राष्ट्रपति बन्न आफूलाई ठोस प्रस्ताव नआएको दाबी गरे। तर, उनले आफू के बन्ने भन्नेबारेमा अझै सोचिनसकेको प्रष्ट पारे।

“अहिले बजारमा हल्लाहरू धेरै छन्। चर्चा परिचर्चाहरू धेरै छन्। यस सन्दर्भमा कुनै टुंगो लागेको छैन”, उनले भने, “चाहना राख्ने कुरा बेग्लै कुरा हो। मैले नै आफू के गर्ने सोचिसकेको छैन। हाम्रो पार्टीले पनि के गर्ने भन्ने कुरा निर्णय गरिसकेको छैन। तर, पार्टीको धारणा के छ भन्दाखेरि, पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ।”

पावर सेयरिङमा भूमिका नखोजेर अरूकै लागि सधैँ बलिदान हुने र अरूले फाइदा उठाउने कुरा मान्य नहुने उनको भनाइ छ। उनले राष्ट्रपतिका लागि बृहत् छलफलको आवश्यकता रहेको उल्लेख गरे।

एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति बन्न नेपाललाई प्रस्ताव गरेको समाचारहरू सार्वजनिक भए पनि नेपालले कतिपय कुराहरूलाई पर्दाभित्रै रहन दिँदा उपयुक्त हुने बताए।

“प्रेसमा आएका सबै समाचारहरू साँचो हुन्छन् भन्ने छैन”, उनले भने, “उनले भने, “अहिले नै बोल्ने कुराको हतार गर्नुहुन्न। हतार नगरीकन पर्दाभित्र नै रहन दिनुपर्छ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले पार्टीको ध्यान देशको हितको रक्षा गर्नुपर्ने कुरामा सबै गम्भीर हुनुपर्ने बताए। “संविधानलाई जोगाउने कुरामा हामी अत्यन्तै चनाखो हुनुपर्ने छ”, उनले भने, “देशलाई समाजवादको दिशातर्फ लग्ने सोचतिर हामीले ध्यान दिएका छौँ।”

राष्ट्रपतिका लागि चुनावअघि एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको नाममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहमत भएको उनले खुलाए।