प्रधानन्यायाधीश नियुक्ति चाँडो गर्न नेपाल बारको माग

सर्वोच्च अदालत २०७८ फागुन १ देखि कामु प्रधानन्यायाधीशका भरमा छ।

काठमाडौँ– कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशको नियुक्ति चाँडो गर्न माग गरेको छ।

एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे नेतृत्वको टोलीले मंगलबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर अविलम्ब प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न माग गरेको हो।  

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र अन्य न्यायाधीश खाली हुँदा न्याय सम्पादनमा असर परेकाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको अध्यक्ष घिमिरेले बताए। सरकारले प्रधानन्यायाधीश र न्यायाधीश नियुक्तिलाई विशेष रूपमा लिनुपर्ने उनको भनाइ थियो। लामो समयदेखि कायममुकायमको भरमा सर्वोच्च अदालत चलिरहेकाले यसको अन्त्य गर्न प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस माग गरिएको अध्यक्ष घिमिरेले बताए।

संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने संवैधानिक व्यवस्था छ। सर्वोच्च अदालत २०७८ फागुन १ देखि कामु प्रधानन्यायाधीशका भरमा चलिरहेको छ।

भेटमा अध्यक्ष घिमिरेसहित महासचिव अञ्जिता खनाल, बागमती प्रदेश उपाध्यक्ष हर्क रावल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायत सहभागी थिए।