भातको चाख छैन अहिले भातखाने डाँडामा

बागलुङको ताराखोला गाउँपालिकाको केन्द्र भातखाने डाँडामा पहिलेजस्तो खाद्यान्नको समस्या छैन। अन्न उत्पादन नहुने गाउँमा अहिले धान, मकै, गहुँ, फापर र कोदो फल्न थालेका छन्।

ढोरपाटन– भातखाने डाँडा एक दशक अगाडिसम्म विकट गाउँ थियो। अहिले बजार बनेको छ। अग्लो डाँडैभरि ठूला–ठूला घर बनेका छन्। वरपर रहेका भिराला जमिनमा अहिले गहुँ, मकै, फापर र कोदो फल्छन्।

यहीँ उत्पादन भएका खाद्य बालीबाट स्थानीयवासी जीवन निर्वाह गर्छन्। भातखाने डाँडामा पहिले खेतीपाती राम्रो नहुँदा खाद्यान्नको अभाव हुन्थ्यो। स्थानीय बजारमा गएर खाद्यान्न जोहो गर्नुपर्ने अवस्था थियो। भातखाने डाँडा सुगम बनेको छ। पहिलेको जस्तो अहिले खाद्यान्न अभाव नहुने स्थानीय संगम घर्ती मगरले बताए। “पहिले मुलाको धजरा, घ्यूलगायतका स्थानीय उत्पादन लिएर गाउँलेहरू पाङ, बलेवालगायतका ठाउँमा गएर धान साटेर ल्याई उपभोग गर्नुपर्ने अवस्था थियो,” उनले भने, “तर अहिले गाउँमै लेकाली धान फल्छ। चामल किनेर खानु पर्दैन।” 

बाली राम्रो उत्पादन नहुँदा ‘बाली पूजा’ गर्ने चलन छ। हरेक वर्ष चैतमा बाली सप्रियोस् भन्दै ‘बाली पूजा’ गरिन्छ। उत्पादन राम्रो हुँदै गएपछि अहिले भातखाने डाँडामा भातको खासै चाख नभएको उनको भनाइ छ। “पहिले दशैँ, तिहार र मुख्य चाडपर्वमा मात्रै भात खाने चलन थियो, चामल किन्न टाढा–टाढा जानुपर्थ्यो,” मगरले भने, “अहिले उत्पादन राम्रो हुँदै गएको छ। पहिलेको जस्तो खाद्यान्नको दुःख हुँदैन।”

यहाँ गाउँले जम्मा भएर बाली पूजा गरी भात खाने हुँदा यो ठाउँलाई ‘भातखाने डाँडा’ भनिएको स्थानीय ६२ वर्षीय डिलबहादुर घर्ती बताउँछन्। अहिले पनि उपयुक्त दिन पारेर पूजा गरी सामूहिक रूपमा भात खाने चलन छ। बाली पूजा गरेर मात्रै नयाँ बाली भित्र्याइन्छ। “यो चलन त धेरै वर्षदेखि चल्दै आएको हो। पहिले चामलको खाँचो निकै हुन्थ्यो, नजिक पाइँदैनथ्यो, गहुँ, जौ पनि राम्रो नहुँदा समस्या हुन्थ्यो,” घर्तीले भने, “बाली पूजा नगरेसम्म नयाँ बाली भित्र्याउँदैनौँ। हिउँदे बाली भित्र्याउनुभन्दा पहिले बाली पूजा गर्नुपर्छ।”

ताराखोला गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले भातखाने डाँडासँग परम्परा र संस्कृतिसमेत जोडिएको बताए। यहाँ अन्य बेला पनि विभिन्न मेला महोत्सव र धार्मिक क्रियाकला हुने गरेको छ। स्थानीयको जीवनस्तर समेत परिवर्तन हुँदै गएको रोकाले बताए। उनीहरू परम्परागत पेसालाई परिवर्तन गरेर नयाँ प्रविधिसँग जोडिएर पेसा–व्यवसाय गर्न थालेका छन्। “भातखाने डाँडा मात्रै फेरिएको छैन। यहाँका मजदुर, किसान तथा सबै वर्गको जीवनस्तर पनि फेरिएको छ, पहिले यो ठाउँ जंगल नै थियो। सडकले जोडिएपछि अहिले बजारको स्वरूप लिएको छ। विकासका थुप्रै ढोका खुलेका छन्,” उपाध्यक्ष रोकाले भने, “हामीले पनि जनताका आवश्यकतालाई प्राथमिकतामा राखेर विकास गरिरहेका छौँ।”

ताराखोला गाउँपालिकाको केन्द्र पनि भातखाने डाँडामै छ। त्यसले गर्दा यहाँ ठूलो परिवर्तन आएको छ। ठाउँले मुहार फेरेपछि स्थानीयसमेत खुशी छन्। स्थानीय ६२ वर्षीय डिलबहादुर घर्तीले घर जग्गाको तिरो तिर्न र सामान्य प्रशासनिक कामका लागि घण्टौँ लगाएर बागलुङ बजार पुग्ने अवस्थाको अन्त्य भएको बताए। गाउँमा कोही बिरामी परे डोकोमा बोकेर अस्पताल लैजानु नपर्ने उनको भनाइ छ।

“सेवा–सुविधा लिन लागेको त बल्लै त हो नि। कयौँ वर्ष यहाँका मान्छेले दुःख भोग, घाँस दाउरा, मेलापात गरेरै जिन्दगी चलाए, हामीभन्दा अगाडिका पुर्खाले त झन् कति दुःख पाए होलान्?” उनले भने।