फुटबलर गीता राना ५ महिना मैदान बाहिर रहने

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य रक्षक गीता राना देब्रे खुट्टामा लागेको चोटका कारण करिब ५ महिना मैदान बाहिर रहने भएकी छन्।

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य रक्षक गीता राना करिब ५ महिना मैदान बाहिर रहने भएकी छन्। 

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका कार्यवाहक प्रशिक्षक अनन्तराज थापाका अनुसार गीताको देब्रे खुट्टामा गम्भीर चोट रहेको कारण उनी लामो समय मैदान बाहिर रहने भएकी हुन्।

नेपालले घरेलु टोली भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। चेन्नईस्थित जवाहरलाल नेहरु रंगशालामा भारतसँग भएको पहिलो मैत्रीपूर्ण खेलको दोस्रो हाफमा गीताको खुट्टामा चोट लागेको थियो।

"उनको खुट्टा भाँचिएको छ। अहिले चिकित्सकले करिब ५ महिना मैदान उत्रिन नसक्ने बताएका छन्। तर, यहाँ पनि उनको एकपटक परीक्षण हुन्छ," उनले भने। गीता घाइते भएपछि प्रशिक्षक थापाले विमला विकलाई सेन्टर ब्याकको जिम्मेवारी दिएका थिए।

उक्त खेलमा नेपालले २-२ गोलको बराबरी खेलेको थियो। प्रशिक्षक थापाले गीता घाइते हुँदा त्यसको असर खेलमा परेको बताए। "पहिलो हाफमा सावित्राले केही असर खेर फ्याँकेको थियो। दोस्रो हाफमा गीता घाइते हुँदा दुई गोल खायौँ," उनले भने।