माधव नेपाल भन्छन् : सत्तागठबन्धन जुनसुकै बेला टुट्न सक्छ

अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकका लागि घाँडो नै भएको टिप्पणी गरे। के–के न गरौँला भनेर आएको रास्वपा पार्टीमा पनि पदको आशक्तिबाहेक अरू केही पनि नदेखिएको उनको आरोप छ।

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारूढ गठबन्धन जुनसुकै बेला टुट्न सक्ने अवस्थामा पुगेको दाबी गरेका छन्।

अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीको कारण सत्तारूढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्थामा पुगेको उल्लेख गर्दै राष्ट्रपति निर्वाचनपछि मात्रै मुलुकको राजनीतिले कुन कोर्स लिन्छ भन्ने टुंगो लाग्ने बताए। 

“कुन दिन त्यो गठबन्धन भत्किने हो, ठेगान छैन“, आइतबार काठमाडौँको कीर्तिपुरमा आयोजित पार्टीनिकट अनेरास्ववियू स्थायी कमिटी बैठकको उद्घाटन गर्दै उनले भने “मुलुकको राजनीतिले कुन कोर्स लिने हो, राष्ट्रपतिको चुनावबाट थाहा भइहाल्छ।”

उनले सबै पद आफैँले लिएर मुलुकमा राजनीतिक एकाधिकार कायम गर्न खोज्ने एमाले हाबी हुने हो वा होइन भन्ने कुरा पनि राष्ट्रपति निर्वाचनपछि मात्रै भन्न सकिने धारणा राखे। त्यसका लागि अब एक हप्ता मात्रै पर्खे पुग्ने उनको भनाइ थियो।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीले कांग्रेस र एकीकृत समाजवादीको सहयोग लिएर गठबन्धन भत्काउलान् कि भन्ने चिन्ता छाएको बताए। “त्यो गठबन्धनको सरकार भत्केपछि अनि कांग्रेसले, एकीकृत समाजवादीले काँध थाप्ला कि भनेर त्यहाँ चिन्ता शुरू भइसकेको छ। ढोक्सा थाप्ने भनेको त्यही हो“, उनले भने।

अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकका लागि घाँडो नै भएको टिप्पणी गरे। के–के न गरौँला भनेर आएको रास्वपा पार्टीमा पनि पदको आशक्तिबाहेक अरू केही पनि नदेखिएको उनको आरोप छ।

अध्यक्ष नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै मुलुकमा फेरि मण्डलेहरू जाग्न लागेको कटाक्ष गरे। उनले पूर्वराजा शाहलाई सहभागी गराएर अभियान चलाउने पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई अझै एमालेले कारबाही गर्न नसक्नु कम्युनिस्ट पार्टीका लागि लाजमर्दो विषय भएको तर्कसमेत गरे।

“मण्डलेहरूको रोग एमालेभित्र घुसेको छ। त्यहीबाट एमाले केन्द्रीय सदस्य अझै पनि छन् कि कारबाही गरिसक्यो, थाहा छैन। एमालेमा सम्मानपूर्वक बसिरहेकै छन्। त्यो भनेको चाहिँ कम्युनिस्ट पार्टीको निम्ति लाजमर्दो कुरा हो“, उनले भने।

अध्यक्ष नेपालले नेपालको भरपर्दो राजनीतिक पार्टीका रूपमा एकीकृत समाजवादीलाई स्थापित गराउने गरी पार्टीको काममा लाग्न पनि अनेरास्ववियूका नेता–कार्यकर्तालाई निर्देशन दिए।