म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ह्याग भन्छन्– बार्सिलोनासँगको खेल रोमाञ्चक हुन्छ

म्यानचेस्टर युनाइटेडले युरोपा लिगअन्तर्गत फ्लेअफमा बिहीबार राति क्याम्प नोउमा स्पेनिस क्लब बार्सिलोनासँग प्रतिस्पर्धा गर्दै छ।

काठमाडौँ– इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक रिक टेन ह्यागले बार्सिलोनासँगको खेल रोमाञ्चक हुने बताएका छन्। युनाइटेडले युरोपा लिगअन्तर्गत फ्लेअफमा बिहीबार राति ११:३० बजे क्याम्प नोउमा स्पेनिस क्लब बार्सिलोनासँग प्रतिस्पर्धा गर्दै छ।

प्रशिक्षक टेन ह्यागले बार्सिलोनासँगको खेलअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रिमियर लिग र ला लिगाबीचको खेलमा खासै भिन्नता नरहेको कारण खेल रोमाञ्चक हुने बताएका हुन्।

"वर्षौंदेखि च्याम्पियन्स लिगमा बार्सिलोनासँग भेट्दै आएका छौँ। प्रिमियर लिग र स्पेनिस ला लिगाबीचको खेलको स्तरमा पनि धेरै भिन्नता छैन। तर, अहिले दुवै क्लब च्याम्पियन्स लिगमा छौँ। एक अर्काको सामना गर्नु रोमाञ्चक हुने छ भन्ने मलाई लाग्छ", उनले भने।

डच प्रशिक्षकले जाभी हर्नान्डेजको टोली बार्सिलोनाको पनि प्रशंसा गरेका छन्। जाभीको नेतृत्वमा रहेको बार्सिलोनाले ला लिगामा रियल मड्रिडसँगको अग्रता ८ अंकमा पुर्‍याएका छन्। लिगका २१ खेल खेलेको बार्सिलोनाले हालसम्म ७ गोल खाएको छ।

"बार्सा उत्कृष्ट फुटबल खेल्दै छ। तपाईंले उनीहरूको खेल्ने तरिकामा जोहान क्रुफको प्रभाव देख्नुहुन्छ", टेन ह्यागले भने।