सांसद भण्डारीको अवस्था गम्भीर, उपचारका लागि भारत लैजान सिफारिस

तातो हावा र धुवाँका कारण फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन्।

काठमाडौँ– ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीको अवस्था गम्भीर रहेको कीर्तिपुर अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार भण्डारीको अनुहार र दुवै हातखुट्टामा गरी शरीरको २५–३० प्रतिशत भाग जलेको छ। फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन्। अस्पतालकी मेडिकल डाइरेक्टर निजिना ताम्राकारका अनुसार हरिकलाको शरीरको अधिकांश भागमा गरी ७० प्रतिशत भाग जलेको छ।

शरीरको २० प्रतिशतभन्दा बढी भाग जल्नु जटिल अवस्था भएकाले भारत लैजान सिफारिस गरिएको उनले बताइन्। “दुवै जनाको श्वासनलीमा तातो हावा र धुवाँका कारण जलन भएको हुनसक्ने अत्यधिक सम्भावना देखिन्छ। हालको स्रोत र साधनको अवस्थामा उहाँहरूको यथोचित उपचार नेपालमा सम्भव नहुने देखिएकाले देश बाहिर सुविधासम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरिन्छ,” विज्ञप्तिमा भनिएको छ।

बुद्धनगरस्थित भण्डारीको निवासमा बुधबार राति १० बजेतिर सिलिन्डर विस्फोट भएको थियो। कांग्रेस नेता भण्डारी गुल्मी–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।