चितवन–२ मा हुने उपनिर्वाचन रास्वपा सभापति रवि लामिछानेका कारण जति चर्चामा छ, सम्भावित उम्मेदवारमा डा. स्वर्णिम वाग्लेको चर्चाले त्यसलाई थप रोचक बनाउँदै छ।
काठमाडौँ- निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा आउँदो वैशाख १० गते प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन गर्ने मिति घोषणा गरेसँगै सम्भावित उम्मेदवारबारे चर्चा शुरू भएको छ। त्यहाँबाट मंसिर ४ को निर्वाचनमा फराकिलो मतान्तरसहित निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता प्रकरणमा गरेको फैसलासँगै खारेज भएपछि उपनिर्वाचन हुनलागेको हो।
उपनिर्वाचनमा रास्वपाबाट लामिछाने नै पुनः उम्मेदवार बन्ने विषय सबभन्दा धेरै चर्चामा छ। रास्वपाले उनलाई नै निर्विकल्प रूपमा अघि सार्ने देखिन्छ। यद्यपि, अहिलेसम्म यसबारे औपचारिक निर्णय भएको छैन। रास्वपा केन्द्रीय सदस्य दीपक बोहराले भने, “उपनिर्वाचनमा हाम्रो पार्टीका सभापति (लामिछाने) उम्मेदवार बन्नुहुन्छ, पार्टीले त्यही निर्णय गर्छ।”
लामिछानेले केही दिन अघि बसेको सत्ता गठबन्धनका दलहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा चितवन–२ मा चाँडो भन्दा चाँडो उपनिर्वाचनका लागि पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अनुरोध नै गरेका थिए। लगत्तै निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गरेको थियो।
पुरानाको प्रतिस्पर्धामा नयाँ अनुहारको ‘इन्ट्री’
चितवन–२ को उपनिर्वाचन रास्वपा र त्यसका सभापति रवि लामिछानेका निम्ति सर्वाधिक महत्त्वको विषय बनेको छ। एक हिसाबले भन्दा त्यो उनीहरूका लागि ‘जीवनमरणको सवाल’ झैँ देखिन्छ। दोहोरो नागरिकता–राहदानी विवादमा मुछिएका, नागरिकताकै कारण सांसददेखि उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पदसमेत गुमाएका लामिछाने चितवनबाट पुनः फराकिलो मतान्तरसहित निर्वाचित भएर गुमेको हैसियत फर्काउन चाहन्छन्।
दोहोरो राहदानीको विषय प्रहरी अनुसन्धानकै क्रममा रहेकाले यसअघि उनी स्पष्ट स्वार्थको द्वन्द्व हुने देख्दादेख्दै गृह मन्त्रालयको नेतृत्वमा पुगेका थिए। लामिछानेले फेरि पनि गृह मन्त्रालयको नेतृत्वमा पुग्ने चाहना सार्वजनिक रूपमै प्रकट गरिरहेका छन्। र, त्यसको प्रस्थानबिन्दु चितवन–२ को उपनिर्वाचन हुनेछ।
चितवन–२ मा लामिछाने मात्र होइन, अरू उम्मेदवार पनि पुरानै दोहोरिने चर्चा भइरहेको छ। मंसिर ४ को निर्वाचनमा लामिछानेसँग तत्कालीन सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए। त्यसबेला लामिछाने ४९ हजार ३०० मतसहित निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले १४ हजार ९८८ मत ल्याएका थिए। थोरै मतान्तरले तेस्रो भएका नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत पाए। यसबाहेक राप्रपाका तर्फबाट रविन अधिकारीसहित विभिन्न दल र स्वतन्त्र गरेर १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। उपनिर्वाचनमा पनि धेरैजसो यिनै उम्मेदवार दोहोरिने चर्चा छ।
चितवन–२ बाट यसअघि पनि प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका र मंसिर ४ मा समेत उम्मेदवार रहेका एमालेका पोखरेल उपनिर्वाचनका पनि आकांक्षी हुन्। एमालेले अहिलेसम्म कसलाई उम्मेदवारका रूपमा अघि सार्ने भनेर औपचारिक निर्णय गरेको छैन। पोखरेल भने आफू स्वाभाविक दाबेदार रहेको बताउँछन्। “यसअघि नै निर्वाचन लडेकाले म स्वतः दाबेदार हुँ। तर, पार्टीले निर्णय गरेपछि मात्र त्यो आधिकारिक हुन्छ,” पोखरेलले भने, “टिकटमा तलमाथि पर्ला भन्ने लाग्दैछ।”
कांग्रेसबाट पनि श्रेष्ठले नै पुनः उम्मेदवार बन्नेगरी सक्रियता बढाएका छन्। लामिछानेको सांसद पद खारेज भएसँगै निकटतम प्रतिद्वन्द्वी रहेकाले आफूलाई स्वतः निर्वाचित घोषित गर्नुपर्ने निवेदन लिएर उनी निर्वाचन आयोगसमेत पुगेका थिए। उपनिर्वाचन मिति घोषणापछि श्रेष्ठले कांग्रेसका शीर्ष नेताहरूसँग ‘लबिइङ’ बढाएका छन्।
कांग्रेसले भने अहिलेसम्म कसलाई उम्मेदवार बनाउने भन्नेबारे कुनै निर्णय गरेको छैन। चितवन कांग्रेसले भने उपनिर्वाचन मिति घोषणासँगै चुनावी तयारी शुरू गरेको छ। केही दिन अघि मात्र चितवन कांग्रेसका नेताहरूले पत्रकार सम्मेलन गरेर उपनिर्वाचनमा पार्टीलाई जिताउने दाबी गरेका थिए।
श्रेष्ठले उकालोसँगको कुराकानीमा भने उपनिर्वाचन लड्ने विषयमा आफूले शीर्ष नेताहरूसँग छलफल गरिरहेको बताए। “पार्टीले निर्णय गरिसकेको छैन, जे निर्णय गर्छ त्यसैअनुसार अघि बढ्ने हो,” उनले भने, “मैले टिकट पाएँ भने म नै लड्छु। अरू साथीहरूले टिकट पाए भने समर्थन गरेर जाने हो।”
उनले मंसिर ४ मा पनि पार्टीले आफूलाई नै उम्मेदवार बनाउने निर्णय गरेपछि अघि बढेको, अब पनि पार्टीको निर्णय अनुसार नै अघि बढ्ने बताए।
चितवन–२ को उपनिर्वाचनलाई रोचक बनाउने सम्भावित परिदृश्य भने अर्को छ। त्यो हो, उम्मेदवारका रूपमा चर्चामा आएका अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले अघि बढाएको तयारी। नेपाली कांग्रेससम्बद्ध अर्थशास्त्री डा. वाग्लेले मंसिर ४ को निर्वाचनमा पनि चितवन–१ बाट उम्मेदवार बन्ने प्रयास गरेका थिए। तर, कांग्रेसभित्रको समीकरणमा अर्का अर्थशास्त्री डा. विश्व पौडेलले बाजी मारेपछि त्यतिबेला उनको प्रयास सफल भएको थिएन।
त्यहीकारण पनि उनी उपनिर्वाचनमा जसरी पनि उम्मेदवार बन्ने तयारी शुरू गरेका छन्। कांग्रेस नेताहरूका अनुसार डा. वाग्लेले टिकटका लागि नेताहरूसँग भेटघाट तीव्र पारेका छन्। चितवन–२ मा आफ्नो स्थिति के हुन्छ भनेर जाँच्न उनले मत सर्वेक्षणका लागि पनि तयारी गरिरहेका छन्।
डा. वाग्लेले उकालोसँगको कुराकानीमा भने उपनिर्वाचनमा उम्मेदवारी दिनेबारे अहिले नै कुनै तयारी अघि नबढेको बताए। “दलीय व्यवस्थामा दलबाट उम्मेदवार बन्नलाई दलले नै उम्मेदवार बनाउनुपर्ने हुन्छ। अहिले त्यो प्रक्रिया नै शुरू भएको छैन,” उनले भने, “यस विषयमा मैले अहिलेसम्म कुनै लबिइङ पनि गरेको छैन।”
गठबन्धनको साझा उम्मेदवार बन्लान् लामिछाने?
नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको वर्तमान सत्ता गठबन्धन कायम रह्यो भने रास्वपाका लामिछाने चितवन–२ मा गठबन्धनका साझा उम्मेदवार बन्ने चर्चा पनि चलिरहेको छ। कतिपयले एमाले अध्यक्ष ओली नै त्यो वातावरण बनाउन लागिरहेको बताउने गरेका छन्। यहीकारण एमालेले लामिछानेलाई साझा उम्मेदवार बनाउने चर्चा चले पनि एमालेबाटै उम्मेदवार बन्न चाहेका कृष्णभक्त पोखरेल भने पार्टीले त्यस्तो निर्णय गर्ला भन्ने आफूलाई नलागेको बताउँछन्।
“यो सत्ता समीकरण कायमै रहे लामिछानेलाई छोड्ने भन्ने जुन हल्ला छ, त्यसमा मलाई विश्वास छैन,” उनले भने, “सरकारमा भएका दलहरूबीच चुनावमा प्रतिस्पर्धा हुँदैन भन्ने हुन्न। सरकार गठनका लागि सहमति हुने हो, तल प्रतिस्पर्धा हुँदा एमाले कमजोर छैन।”
एमाले अध्यक्ष ओलीसँग नियमित सम्पर्कमा रहेका लामिछानेले भने आफूलाई साझा उम्मेदवार बनाउन लबिइङ नै गरिरहेको एमालेका एक नेता बताउँछन्।
रास्वपाका नेताहरू भने अहिले नै गठबन्धनबाट साझा उम्मेदवार बन्ने विषयमा कुनै छलफल नभएको बताउँछन्। रास्वपा उपसभापति डोलप्रसाद अर्यालले भने, “अहिलेसम्म साझा उम्मेदवार बन्ने विषयमा गठबन्धनमा कुनै छलफल भएको पनि छैन।”
वैशाख १० मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले फागुन १ देखि मतदाता नामावली अद्यावधिक कार्यक्रम शुरू गरिसकेको छ। यो कार्यक्रम चैत १६ सम्म चल्ने छ। चैत २० मा उम्मेदवारको मनोनयन–पत्र दर्ता, २१ गते उम्मेदवारको विरोधमा उजुरी, २२ मा मनोनयन–पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने, चैत २३ मा उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरिसकेको छ।
लामिछानेको उम्मेदवारीमा केही समस्या होला?
नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलाबाट सांसद र मन्त्री पद गुमाएका रास्वपा सभापति रवि लामिछानेलाई नै रास्वपाले उपनिर्वाचनमा पुनः उम्मेदवार बनाउने तयारी भइरहँदा उनले उम्मेदवार बन्न पाउलान् कि नपाउलान् भन्ने प्रश्न पनि कतिपयले उठाइरहेका छन्।
लामिछानेले सर्वोच्चको फैसलाअनुसार माघ १५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पुनः नागरिकता प्राप्त गरिसकेका छन्। अर्थात् नागरिकताकै कारण उनलाई उम्मेदवार बन्न कुनै व्यवधान हुने देखिन्न। संविधानको धारा २९१ ले विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको व्यक्तिले त्यो अनुमतिपत्र त्यागेको तीन महिनापछि मात्र निर्वाचनमा उम्मेदवार बन्न पाउने व्यवस्था गरेको छ। संवैधानिक कानूनविद् डा. विपिन अधिकारीले लामिछानेले विदेशी नागरिकता र स्थायी आवासीय अनुमतिपत्र फिर्ता गरेको धरै समय बितिसकेकाले यो व्यवस्था आकर्षित नहुने बताए।
“फिर्ता गरेको दिनदेखि नै उनी सम्बन्धित देशको नागरिक भएनन्, उनको दाबी नेपाली नागरिक भएकै थियो तर, नेपाली नागरिकता क्रियाशील भएको थिएन। उनले जानकारी नगराए पनि अमेरिकी नागरिकको हैसियत समाप्त भइसकेको थियो,” उनले भने, “धारा २९१ को व्यवस्था उनको हकमा आकर्षित हुने देख्दिनँ।”
लामिछानेले पुरानै नागरिकता कायम राखेर लिएको भनिएको राहदानीको मुद्दा अनुसन्धानकै क्रममा छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ मा राहदानीको मुद्दाको अनुसन्धान जारी रहेका बेला उम्मेदवार बन्नबाट रोक्ने व्यवस्था छैन। ऐनको दफा १३ को (घ) मा भनिएको छ, “भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्म कैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको व्यक्ति उम्मेदवार बन्न नसक्ने।”
राहदानी सम्बन्धी कसुरमा लामिछानेमाथि अनुसन्धान मात्र भइरहेको छ। यसमा उनीमाथि मुद्दा चलेको छैन। वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई राहदानीका सम्बन्धमा मुद्दाको अनुसन्धान जारी रहेको अवस्थामा लामिछानेलाई उम्मेदवार बन्नबाट कानूनले नरोक्ने बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
