सन्दीप विरुद्धको मुद्दा छिटो छिनोफानो गर्न रास्वपा सांसदको माग

सांसद सुमना श्रेष्ठले संसद्‌मा प्रश्न गरेकी छन्– बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो?

काठमाडौँ– बलात्कार आरोपित सन्दीप लामिछाने विरुद्धको मुद्दा छिटो टुंगोमा पुर्‍याउन राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले माग गरेकी छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै श्रेष्ठले न्यायपालिकाको काम चुस्त, दुरुस्त र पारदर्शी नहुँदा समाज कानुनी मुद्दामा पनि विभाजित हुन थालेको बताएकी हुन्। उनले लामिछानेलाई क्रिकेट खेल्न दिइएको विषयमा समेत प्रश्न उठाएकी छन्।  

“बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो? आरोप लगाएको व्यक्तिले राष्ट्रलाई प्रतिनिधित्व गर्दा पीडितको मानसिक अवस्था कस्तो होला,” उनले भनिन्, “यो घटनाका कारण पीडितलाई झनै ठूलो मानसिक अवसादमा धकेल्ने जोखिम बढेको छ।”  

राष्ट्रको प्रतिनिधित्व गरेको व्यक्तिको यति ठूलो मुद्दालाई सामान्य बनाउन नमिल्ने उनको भनाइ छ।