ट्विटरका विज्ञापनदाता घट्दै, कम्पनी टाट पल्टिन नदिने मस्कको भनाइ

सेप्टेम्बर र अक्टोबरमा मात्रै ३० वटा ठूला विज्ञापनदाताले ट्विटरमा खर्च कटौती गरे भने अक्टोबरमा ६२ दशमलव ५ मिलियन डलर खर्चिएका विज्ञापनदाताले जनवरीको अन्त्यतीर १५ मिलियन डलर मात्रै खर्च गरे।

तस्वीर : एपी



सन् २०२२ को सेप्टेम्बरमा ट्विटरका प्रमुख एक हजार विज्ञापनदातामध्ये आधा भन्दा बढीले सन् २०२३ को जनवरी पहिलो सातादेखि खर्च कटौती गरेका छन्। यस्तै, ५०० वटा विज्ञापनदाताले  विज्ञापन दिनै छाडेका छन्। ट्विटरका प्रमुख एक हजार विज्ञापनहरूको राजस्वत पछिल्लो ३ महिनामा ६५ प्रतिशतमा सीमित भएको पाइएको छ।

यस्तै, सेप्टेम्बर र अक्टोबरमा मात्रै ३० वटा ठूला विज्ञापनदाताले खर्च घटाएका छन्। ती विज्ञापनदाताहरूले ट्विटरमा सन् २०२२ को अक्टोबरमा ६२ दशमलव ५ मिलियन डलर खर्च गरेकोमा सन् २०२३ को जनवरीमा यो रकम १५ मिलियन डलरमा खुम्चिएको तथ्यांक छ।



डिजिटल मार्केटिङसम्बन्धी विश्लेषण फर्म पाथमेटिक्सको तथ्यांकले ट्विटरका विज्ञापनदाता धमाधम घट्न थालेको देखाएको हो। यसले ट्विटरका विज्ञापनदाता कसरी पलायन हुँदैछन् भन्ने महत्वपूर्ण संकेत गरेको छ। विश्वका धनाढ्य एलन मस्क ट्विटरको नयाँ मालिक बनेपछि कोका–कोला, युनिलिभर, जीप, वेल्स, फार्गाे र मर्कजस्ता प्रमुख ब्रान्डसहित प्रमुख एक हजार विज्ञापनदातामध्ये ६२५ वटाको डेटा केलाउँदा यस्तो पाइएको हो।



ट्विटरका प्रमुख एक हजार विज्ञापनदाताको मासिक राजस्व अक्टोबरदेखि जनवरी २५ सम्म ६० प्रतिशतभन्दा बढीले घटेको पाइएको छ। बाँकी अधिकांश विज्ञापनदाताले पनि प्लेटफर्ममा विज्ञापन खर्च घटाएका छन्। ट्विटरका प्रमुख एक हजार विज्ञापनदाताहरूमध्ये आधाभन्दा कमले जनवरीमा विज्ञापनहरूमा कम खर्च गरेको पाइएको हो। गत अक्टोबरमा एलन मस्क ट्विटरको मालिक बनेदेखि कोका–कोेला, जीप, मर्क र युनिलिभरजस्ता ठूला कम्पनीले सामाजिक सञ्जालबाट आफ्ना विज्ञापन हटाएका थिए।



मस्कले भने उनीहरूलाई प्लेटफर्ममा फर्काउने प्रयास गरिरहेका छन्।  नोभेम्बरको सुरूमा पनि मस्कले ट्विटरले राजस्वमा ठूलो गिरावट सामना गरिरहेको बताएका थिए। 

मस्क ट्विटरको मालिक बने लगत्तै  अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पसहित ट्विटरका नियम उल्लंघन गर्ने प्रयोगकर्तामाथिको प्रतिबन्ध फिर्ता, तेस्रो पक्ष सामग्री निरीक्षण प्रक्रियालाई विघटन, कोभिड १९ को गलत सूचनाका नीति कार्यान्वयनमा रोक लगाउनेजस्ता कार्य गरे। यति मात्र होइन ठूलो संख्यामा कर्मचारी कटौती गरे र विज्ञापनका सम्बन्धमा पनि नयाँ नियम ल्याएका थिए।



उनका अधिकांश कदमको विरोध समेत भएको थियो। यसअघि नोभेम्बरको सुरूमा मस्कले ट्विटरको राजस्वमा ठूलो गिरावट आएको बताएका थिए। पछिल्लो तीन महिना अत्यधिक कठिनपूर्ण रहेको बताउँदै मस्कले कम्पनीलाई टाट पल्टिन नदिने प्रयास भइरहेको समेत बताएका थिए।