नामिबियाका लागि माइकलको शतक, नेपालले पायो २८६ रनको लक्ष्य

घरेलु टोली नेपालका लागि करण केसीले सर्वाधिक ५ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै १ मेडनसहित ६१ खर्चिए। 

काठमाडौँ– माइकल भान लिगेनको शतकप्रेरित नामिबियाले आईसीसी विश्व डिभिजन लिग–२ मा नेपाललाई २८६ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नामिबियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको हो। नामिबियाका लागि माइकलले १३३ रनको इनिङ्स खेले। उनले १३७ बलमा ५ छक्का प्रहार गरे।

कप्तान जेरार्ड इरास्मसले ७९ बलमा २ चौका र ३ छक्कासहित ५६ रन बनाए। यस्तै, जेन ग्रिनले ३४ रन बनाए। नामिबियाका अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्। नामिबियाले दोस्रो ओभर पूरा नहुँदै पहिलो विकेट गुमाएको थियो। ओपनर लो ह्यान्ड्रे ५ रनमा बोल्ड भए। त्यसपछि कार्ल विक्रेनस्ट्रोक पनि १३ रनमा बोल्ड भए। त्यसपछि आएका माइकल र जेरार्डले १३० रनको विशाल साझेदारी गरेका थिए। जेरार्डलाई ३६.१ ओभरमा कुशल मल्लले सन्दीप लामिछानेबाट क्याच आउट गराए।

माइकल ४६औँ ओभरको अन्तिम बलमा करण केसीले फ्याँकेको बलमा दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भए। घरेलु टोली नेपालका लागि करण केसीले सर्वाधिक ५ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै १ मेडनसहित ६१ खर्चिए। सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै ६६ रन खर्चिएर ३ विकेट लिए।

कुशल मल्ल र सोमपाल कामीको नाममा १/१ विकेट रह्यो।