'केपी ओली कप'को उद्घाटन खेलमा सातदोबाटो र पुलिस भिड्ने

'केपी ओली कप'को उद्घाटन खेलमा सातदोबाटो र पुलिस क्लबबीच प्रतिस्पर्धा हुने आयोजक राष्ट्रिय युवा संघ, नेपालले जनाएको छ।

काठमाडौँ– 'केपी ओली कप'को उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र विभागीय टोली नेपाल पुलिस क्लब भिड्ने भएका छन्। आयोजक राष्ट्रिय युवा संघ, नेपालले आइतबार खेल तालिका सार्वजनिक गर्दै पहिलो खेलमा सातदोबाटो र पुलिसबीच प्रतिस्पर्धा हुने जानकारी दिएको हो।

यी दुईबीचको खेल फागुन ११ गते सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को कम्पेलक्समा बेलुका ३ बजेबाट शुरू हुने छ।

दोस्रो खेल विभागीय टोली त्रिभुवन आर्मी र न्यु रोड (एनआरटी)बीच हुने छ। उक्त खेल फागुन १२ गते सातदोबाटोमै बिहान ११ बजेबाट हुने आयोजकले जनाएको छ। सोही दिन बेलुका ३ बजे चर्च ब्वाइज युनाइटेड र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुने छ।

अन्तिम खेल केपी ओली फुटबल क्लब र जावलाखेल युथ क्लबबीच फागुन १३ गते एन्फाकै मैदानमा हुने छ। आयोजकका अनुसार नकआट चरणका सबै खेल एन्फामा राखिएको हो। फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेलाइने छ।

आयोजकका अनुसार प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन्। यस्तै, सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले जनही ५० हजार पाउने छन्।

प्रत्येक खेलको विजेता टोलीले २५ हजार हजार र म्यान अफ द म्याच खेलाडीलाई १५ हजार दिइने आयोजकले जनाएको छ। एन्फाको सामग्री र प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगिता फागुन ११ देखि १७ गतेसम्म चल्ने छ।