कृष्णप्रसाद भट्टराई स्मृति कराँते प्रतियोगितामा पुलिसलाई सर्वाधिक १० स्वर्ण

प्रतियोगितामा १७ इभेन्ट्समध्ये नेपाल पुलिस क्लबले सर्वाधिक १० स्वर्ण जित्न सफल भयो। यस्तै, एपीएफले ६ स्वर्ण जित्दा आर्मीले एक स्वर्ण पदक निकाल्यो।

काठमाडौँ– विभागीय टोली नेपाल पुलिस क्लबकी सुनिता महर्जनले ६८ केजीमुनिको तौल समूह र ६७ केजी तौल समूहमा नेपाल पुलिसका नवीन रसाइलीले शनिबार आ–आफ्नो स्पर्धामा स्वर्ण पदक जितेका छन्।

ललितपुरस्थित सातदोबाटाको कराँते एकेडेमीको हलमा शनिबार सम्पन्न दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति कराँते प्रतियोगिताअन्तर्गत ६८ केजीमुनिको तौल समूहको फाइनल खेलमा १३औँ दक्षिण एशियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सुनिताले स्वर्ण पदक जितेकी हुन्। उनले फाइनलमा बागमती प्रदेशकी विनीता श्रेष्ठलाई ९–१ ले पराजित गरिन्।

त्यसअघि सेमिफाइनलमा सुनिताले एपीएफकी डाएनलाई ५–३ र विनीताले मधेश प्रदेशकी मोनिकालाई ८–० ले हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए। डाएना र मोनिकाले काँस्य पदक प्राप्त गरेका छन्। यस इभेन्टमा ७ प्रदेश र तीन विभागका गरी कुल १० खेलाडीबीच प्रतिस्पर्धा भएको थियो।

यता ५५ केजी तौल समूहको प्रतिस्पर्धामा एपीएफ क्लबकी मनीषा चौधरीले स्वर्ण पदक जितेकी छिन्। शनिबार भएको तेस्रो फाइनलमा वर्षा बुढा मगरलाई ७–५ ले हराउँदै मनीषाले एपीएफका लागि चौथो स्वर्ण पदक दिलाएकी हुन्।

यसअघि भएको सेमिफाइनलमा मनीषाले आर्मीकी शारदा सुनारलाई हान्सुकोका आधारमा र वर्षाले प्रदेश १ की विद्याकला राईलाई ८–० ले हराउँदै फाइनलमा भेट पक्का गरेका थिए। मनीषा र विद्याकलाले भने काँस्य प्राप्त गरे।

प्रतियोगिताअन्तर्गत शनिबार नै भएको ६७ केजी तौल समूहको खेलमा नेपाल पुलिसका नवीन रसाइलीले त्रिभुवन आर्मीका सन्नी चौलागाईंलाई पराजित गर्दै स्वर्ण पदक जिते। यससँगै उनले पुलिसका लागि दशौँ स्वर्ण दिलाउन सफल भएका हुन्।

शनिबार भएको दोस्रो फाइनलमा त्रिभुवन आर्मी क्लबका सन्नी चौलागाई ९ –१ ले हराउँदै नवीनले स्वर्ण पदक जितेका हुन्। त्यसअघि सेमिफाइनलमा नवीनले बागमतीका निमा शेर्पालाई ९–३ ले र सन्नीले एपीएफका प्रतीक घर्तीमगरलाई हराउँदै स्वर्ण पदक भिडन्त पक्का गरेका थिए। कुल १० खेलाडीले सहभागिता जनाएको यस स्पर्धामा निमा र प्रतीकले काँस्य प्राप्त गरे।

यस्तै ८५ केजीमुनिको तौल समूहको प्रतिस्पर्धामा एपीएफका मोहमद शेखुले स्वर्ण पदक जित्न सफल भए। शेखुले गण्डकी प्रदेशका विशाल थापा मगरलाई ३–१ ले हराउँदै स्वर्ण पदक जितेका हुन् भने विशालले रजत पदकमा चित्त बुझाए। त्यसअघि सेमिफाइनलमा मोहमद शेखुले पुलिसका स्वीकार राईलाई १२–४ र विशालले आर्मीका निकेश मानन्धरलाई १०–८ स्तब्ध बनाउँदै फाइनलमा स्थान बनाएका थिए।

उता ८४ केजी माथिको प्रतिस्पर्धामा पुलिसका विप्लवलाल श्रेष्ठले स्वर्ण पदक निकाल्दा एपीएफका तेन्जिङ शेर्पाले रजत पदकमा चित्त बुझाए। यस्तै, लुम्बिनीका नारायणराज गुरुङ र आर्मीका विपिनराज सिंह दर्जीले काँस्य पदक पाए।

यस्तै ७५ केजी तौल समूहको प्रतिस्पर्धामा एपीएफका सुवास घतानीले स्वर्ण पदक जितेका छन्। उनले गण्डकी प्रदेशका सजोल बुढाथोकीलाई ६–४ ले हराउँदै सुवासले स्वर्ण पदक जितेका हुन्। रुरिहाङ र सजोलले काँस्य पदक प्राप्त गरे।

यससँगै प्रतियोगितामा सबै पदकको छिनोफानो लागेको छ। प्रतियोगितामा १७ इभेन्ट्समध्ये नेपाल पुलिस क्लबले सर्वाधिक १० स्वर्ण जित्न सफल भयो। यस्तै, एपीएफले ६ स्वर्ण जित्दा आर्मीले एक स्वर्ण पदक निकाल्यो। प्रतियोगितामा विजयी खेलाडीलाई नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले पुरस्कार वितरण गरेका थिए।