ठाडो भाकाको मौलिक गीत ‘दरमखोला’

ठाडोभाका गण्डक क्षेत्रमा प्रचलित मौलिक लोकभाका हो। पछिल्लो समय यो भाका हराउँदै जान थालेको छ।

गण्डकी– मौलिक ठाडो भाकामा आधारित लोकगीत ‘दरमखोला’ सार्वजनिक भएको छ। गायक वसन्त थापा र गायिका देवी घर्ती मगरको स्वर रहेको उक्त गीत ‘वसन्त थापा’ युट्युब च्यानलमार्फत बजारमा आएको हो। 

गीतको शब्द प्रल्हाद सुवेदीले लेखेका हुन्। सङ्‌गीत गायक थापा आफैँले गरेका छन्। ठेट शब्द, मन छुने भाका र स्वरका कारण गीतले दर्शक/श्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेको थापाले बताए। ‘म्युजिक भिडियो’मा प्रयुक्त नाच र अभिनयले पनि गीतमा मौलिकता थपेको छ। 

ठाडोभाका गण्डक क्षेत्रमा प्रचलित मौलिक लोक भाका हो। पहिले पहिले मेलापात र रोधीघरमा ठाडोभाका गुन्जन्थ्यो। पछिल्लो समय ठाडो भाकाको मौलिकता हराउँदै जान थालेको छ। आधुनिकताको प्रभावले पुराना लोकभाका संकटमा परेका छन्। गीतका माध्यमबाट आफ्नो पहिचान र मौलिकता प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले गीत बजारमा ल्याएको थापाले बताए।