जलवायु परिवर्तनका मुद्दामा नेपाल विश्वसामु दरिलो रूपमा प्रस्तुत हुनुपर्छ : राष्ट्रपति

राष्ट्रपति भण्डारीले पूर्वाधार निर्माण गर्दा वातावरण र जैविक विविधतामा पर्ने प्रभावको गम्भीर अध्ययन गरी विकास र वातावरणबीच सन्तुलन कायम गर्नु आवश्यक रहेको बताएकी छन्।

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल जलवायु परिवर्तनका दृष्टिले उच्च जोखिममा रहेको बताएकी छन्। शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले कार्बन उत्सर्जन र जलवायु परिवर्तनमा नगण्य भूमिका हुँदा पनि नेपालले असन्तुलित रूपमा प्रतिकूल असरहरू बेहोर्नु परिरहेको बताएकी हुन्।

"जलवायु परिवर्तनका दृष्टिले नेपाल उच्च जोखिममा रहेको छ। कार्बन उत्सर्जन र जलवायु परिवर्तनमा नगण्य भूमिका हुँदा पनि नेपालले असन्तुलित रूपमा यसका प्रतिकूल असरहरू बेहोर्नु परिरहेको छ। नेपालका हिमालहरू तीव्र गतिमा पग्लिने क्रम बढेको छ", उनले भनिन्, "यसबाट हिमतालहरू आकस्मिक विस्फोट हुन गई तल्लो तटीय क्षेत्रमा ठूलो क्षति हुने जोखिम रहेकाले वातावरणीय सन्तुलन कायम राख्न क्षेत्रीय र विश्वव्यापी सहकार्यका लागि तत्काल कदम चालिहाल्नुपर्दछ। साथै नेपालको कार्बन प्रशोधन क्षमता अभिवृद्धि गरी कार्बन व्यापारबाट थप लाभ प्राप्त गर्न अधिकतम प्रयास गर्नुपर्दछ।"

उनले पछिल्लो समय जलवायु परिवर्तनका असरहरू प्रत्यक्ष रूपमा देखिन थालेको उल्लेख गर्दै आगामी दिनमा तापमानलाई सन्तुलन राख्न र जलस्रोतको आवश्यकता पूर्ति गर्न कठिन हुँदै जाने औँल्याइन्। "जलवायु परिवर्तनका असरहरू हामीले देखिरहेका छौँ। यसै वर्षको माघको मध्यसम्म पनि हिमालहरू सेता हुन नसक्नुले भोलिका दिनमा विश्व तापमानलाई सन्तुलनमा राख्न र जलस्रोतको आवश्यकता पूर्ति गर्न कठिन हुँदै जाने प्रस्ट देखाएको छ" उनले भनिन्।

नेपालका हिमालहरूले पृथ्वीको तापमानलाई सन्तुलनमा राख्न, समुद्र स्वच्छ राख्न, हिमाल र समुद्रबीच जलस्रोतको अन्तरनिर्भरता कायम गर्न र विश्व जनसंख्याको ठूलो हिस्सालाई खानेपानीको नियमित स्रोत उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेलेका बताइन्। उनले यी तथ्यहरूलाई जलवायु अनुकूलन र असर न्यूनीकरणका लागि स्थापित अन्तर्राष्ट्रिय वित्तीय तथा प्राविधिक संयन्त्रबाट अधिकतम स्रोत र सहयोग परिचालन गर्न जलवायुसम्बन्धी मुद्दालाई नेपालले विश्वसामु दरिलो रूपमा प्रस्तुत गर्नुपर्ने उल्लेख गरिन्।

उनले नेपालको जल आपूर्तिको प्रमुख स्रोतको रूपमा रहेको जलाधार संरक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याइन्। नदीहरूले स्वाभाविक मार्ग गुमाएको र जलप्रवाह अवरुद्ध भएका कारण विपद्का घटनामा वृद्धि भइरहेको उनको भनाइ छ। "यसप्रति हामी सबै सचेत हुनुपर्दछ। विपद्का अधिकांश घटना वातावरणसँग सम्बन्धित भएकाले वातावरण संरक्षण हाम्रो प्राथमिकतामा रहनुपर्दछ", उनले भनिन्।

विपद्को समयमा सबै संयन्त्र समन्वयात्मक र स्वचालित रूपमा सक्रिय हुने व्यवस्था मिलाई विपद् व्यवस्थापनसँग सम्बन्धित सामग्रीको पर्याप्त व्यवस्था, जनशक्ति र विपद् उद्धार केन्द्रको क्षमता विकासमा पर्याप्त ध्यान दिनुपर्ने उनको भनाइ छ।

उनले भौतिक पूर्वाधार निर्माण गर्दा वातावरण र जैविक विविधतामा पर्ने प्रभावको गम्भीर अध्ययन गरी विकास र वातावरणबीच सन्तुलन कायम गर्नु आवश्यक रहेको बताइन्।