घुस मागेको आरोपमा त्रिभुवन विमानस्थलका महाप्रबन्धक निलम्बित

महाप्रबन्धक प्रेमनाथ ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको ‘अडियो’ प्राप्त भएपछि छानबिनका लागि निलम्बन गरिएको हो।

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन्।

विदेशी वायुसेवा कम्पनीसँग घुस मागेको आरोपमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ठाकुरलाई निलम्बन गरेको हो। मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको ‘अडियो’ प्राप्त भएपछि छानबिनका लागि निलम्बन गरिएको हो।

निलम्बनको निर्णय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई समेत पठाइएको छ। यस्तै थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पत्राचार गरिने मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।