सुदूरपश्चिमबाट कांग्रेसको सत्ताप्रवेश, कमल शाह अल्पमत सरकारको मुख्यमन्त्री नियुक्त

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेको जानकारी दिए।

काठमाडौँ– सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त भएका छन्।

प्रदेश प्रमुख देवराज जोशीले बिहीबार साँझ उनलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्। प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेको जानकारी दिए।

बिहीबार नै निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलको विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभाबाट बहुमतले अस्वीकृत भएसँगै उनी नेतृत्वको सरकार ढलेको थियो। संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत नपाएपछि उपधारा ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

"संविधानको धारा १६८ को उपधारा (१) र धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेशसभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गर्ने" भन्ने उल्लेख छ।

सोही व्यवस्थाअनुसार शाह मुख्यमन्त्री नियुक्त भएसँगै नेपाली कांग्रेसले सुदूरपश्चिमबाट सत्ताप्रवेशको अवसर पाएको हो। संविधानको धारा १६८ को उपधारा ३ अनुसार नियुक्त भएको मुख्यमन्त्रीले पनि एक महिनाभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

सरकार गठन गर्न समर्थन दिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भन्दै बैठकमा सहभागी नभएपछि रावल नेतृत्वको सरकार अल्पमतमा परेको थियो। नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनाका बन्दी रेशम चौधरीसहितका नेताहरूलाई रिहाइको माग गर्दै आएको छ।

नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेता रावल गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई एमालेसहित नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपासहित प्रदेशसभाका बहुमत सदस्यले समर्थन गरेका थिए।

५३ सदस्यीय प्रदेशसभामा एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका सात र राप्रपाका एक सदस्य छन्। नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका चार र एक जना स्वतन्त्र सदस्य छन्। मुख्यमन्त्रीले प्रदेशसभामा विश्वास सिद्ध गर्न २७ मत आवश्यक पर्छ।