मिर्गौला ८० प्रतिशत खराब भइसक्दा पनि शरीरमा कुनै लक्षण देखिँदैन। लक्षण देखिएपछि उपचारका लागि जाँदा ढिलो भइसकेको हुन्छ। यतिबेला डायलासिस र प्रत्यारोपणबाहेक विकल्प रहँदैन।
प्रत्येक मानिसको शरीरमा मेरुदण्डको दुवैतर्फको बीचभागमा करङको ठीक मुनिपट्टि सिमीको दाना आकारको अंग हुन्छ, जसलाई हामी मिर्गौला भन्छौँ। मिर्गौला मानव शरीरको महत्त्वपूर्ण अंगमध्ये एक हो। विश्वमा पछिल्लो समय मिर्गौला रोगीको संख्या बढ्दै गएको छ। नेपालमा पनि वार्षिक हजारौँ नयाँ मिर्गौला रोगी थपिने गरेका छन्। मिर्गौला रोग र बच्ने उपायबारे मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेसँग उकालोका लागि शर्मिला खनालले गरेको कुराकानी:
मिर्गौला कति महत्त्वपूर्ण अंग हो?
मानव शरीरमा सामान्यता: दुई वटा मिर्गौला हुन्छन्। तर, एउटै मिर्गौला हुँदा पनि हामी बाँच्न सक्छौँ। कतिपय जन्मजातै एउटा मिर्गौला लिएर आएका हुन्छन्। मिर्गौलाले रगतमा भएको विकार सफा गरी शरीरलाई स्वस्थ राख्ने र अत्यधिक पानीलाई पिसाबको माध्यमबाट बगाएर शरीरमा पानीको मात्रा सन्तुलन गर्ने काम गर्छ। तर, यस प्रक्रियामा बाधा पुगेमा मिर्गौलामा समस्या देखिन थाल्छ। हामीसँग दुईवटा मिर्गौला भए पनि एउटा स्वस्थ हुने अर्को खराब हुने भन्ने हुँदैन। दुइटै मिर्गौला एकैपटक बिग्रिन्छन्।
मिर्गौला रोगको कारण के हो?
जन्मिँदा कम तौल भएका बच्चाको मिर्गौला कमजोर हुने जोखिम बढी हुन्छ। यस्तै, अस्वस्थ जीवनशैली, पिसाबमा खराबी, पिसाब लागे पनि लामो समयसम्म रोकेर राख्नु, शरीरमा पानीको कमी, मानसिक तनाव र पिसाब र मिर्गौलाको नियमित स्वास्थ्य जाँच नगराउँदा मिर्गौला रोगको जोखिम बढ्छ।
यस्तै, सानै उमेरमा मिर्गौला संक्रमण भएका मानिसको उमेर बढ्दै जाँदा उच्च रक्तचाप, मधुमेह र आँखासम्बन्धी समस्याको जोखिम पनि हुन्छ। र, यीमध्ये ४० प्रतिशतमा मिर्गौलासम्बन्धी समस्या देखिने जोखिम उत्तिकै छ।
लक्षण कस्ता हुन्छन्?
वास्तवमा मिर्गौलामा संक्रमण हुँदा लक्षण देखिँदैन। मिर्गौला ८० प्रतिशत खराब भइसक्दा पनि शरीरमा कुनै लक्षण देखिँदैन। लक्षण देखिएपछि उपचारका लागि जाँदा ढिलो भइसकेको हुन्छ। यतिबेला डायलासिस र प्रत्यारोपणबाहेक विकल्प रहँदैन। थप नब्रिगियोस् भनेर उपचार थाल्ने हो। मिर्गौला जोगाउने भन्ने त कुरै आउँदैन। यो के कारणले बिग्रियो भन्ने पनि थाहा हुँदैन।
स्वस्थजस्तो देखिने मानिसको पनि मिर्गौलामा समस्या हुन सक्छ। त्यसैले समय–समयमा पिसाब, रगतको परीक्षण गर्नुपर्छ। मिर्गौला बिग्रिसकेपछि पिसाबमा खराबी हुने, उच्च रक्तचाप जस्ता समस्या देखिन्छन्। मधुमेहको बिरामीमा मिर्गौलासम्बन्धी रोगको जोखिम बढी हुन्छ। मधुमेह र उच्च रक्तचापलाई सन्तुलनमा नराख्दा मिर्गौलामा संक्रमण हुने, शरीर सुनिने पानीका फोका देखापर्ने, मिर्गौलाभित्रै ट्युमर पलाउने, निद्रा नलाग्ने, जिउ चिलाउने, दम बढ्ने, उच्च रक्तचाप हुनेजस्ता लक्षण देखा पर्छन्।
सुरक्षाका लागि के गर्ने?
पेनकिलर औषधिको सेवन कम गर्ने, पानी बढी पिउने, व्यायाम गर्ने, राति सुत्नुभन्दा ३ घण्टाअघि खाना खाने, हरियो सागसब्जी र फलफूल नियमित खाने, दैनिक कम्तिमा सात घण्टा सुत्ने, रक्तचाप र मधुमेहलाई सन्तुलित राख्ने र सक्रिय जीवनशैली अपनाउने गरे मिर्गौला सुरक्षित राख्न सकिन्छ। हरेक उमेर समूहका व्यक्तिले कम्तिमा वर्षमा एकचोटि पिसाब जाँच गराए मात्रै पनि धेरै रोगहरू समयमै पत्ता लाग्छन्।
मिर्गौलापीडित बढ्नुका कारण?
विशेषतः बिग्रँदो जीवनशैलीका कारण मिर्गौला रोगी बढेका छन्। यस्तै, राज्यले पनि उपचारमा पहुँच बढाएको छ, बीमाको सुविधाका कारणले लाभ लिन पनि जाँच गराउने मानिसको संख्या बढेको हो। जसका कारण मिर्गौला रोगी बढी देखिए हुन्। तर, पहिले पनि यति नै संख्यामा थिएनन् भन्न मिल्दैन।
तथ्यांकले स्थिति कस्तो देखाउँछ?
विश्वभरको तथ्यांकको आधारमा ३ करोड जनसंख्या भएको देशमा १० प्रतिशतमा मिर्गौलासम्बन्धी समस्या भएको पाइन्छ। जसअनुसार नेपालमा ३० लाख व्यक्तिको मिर्गौलामा समस्या छ। त्यसको पनि १० प्रतिशत अर्थात् ३ लाख मानिसको मिर्गौला बिग्रिन लागेको छ/हुन्छ र त्यसको पनि १० प्रतिशत अर्थात् ३० हजार व्यक्तिको मानिसको मिर्गौला नराम्रोसँग बिग्रिसकेको छ।
यसरी मिर्गौला बिग्रिएका व्यक्तिमध्ये पनि १० प्रतिशत अर्थात् ३ हजारको व्यक्तिको मिर्गौला यसरी बिग्रिन्छ कि उनीहरूलाई बाँच्नका लागि डायलासिस र प्रत्यारोपणको जरुरत पर्छ। तर हामी लामो समयदेखि उपचार गरिरहेका छौँ त्यसैले कति व्यक्ति डायलासिसमा बसेका होलान् त भन्ने जिज्ञासा हुनु स्वाभाविक हो।
अहिले देशभर ६ हजार व्यक्ति डायलासिसमा बसिरहेका छन्। ३ हजारले प्रत्यारोपण गरेका छन्। तर विश्वको तथ्यांकलाई आधार मान्ने हो भने नेपाल अझै कैयौँ मानिस उपचारबाट वञ्चित छन् र कैयौँ मानिसले आफूमा मिर्गौलाको समस्या भएको चालै पाएका छैनन्। यो डरलाग्दो स्थिति हो।
अब के गर्नुपर्छ?
सरकारले डायलासिस सेवा र औषधि निःशुल्क दिन्छ, केही बीमाका प्रावधानमा पनि रोगीलाई उपचार खर्च दिने उल्लेख छ। तर, यी सबैले केबल बिरामीलाई मात्रै ध्यान दिएका छन्। बिरामी नहुँदै, स्वस्थ मानिसलाई पनि सचेत गराउनेतर्फ प्रभावकारी कदम चालिएकै छैन। लक्षण देखिएपछि त अस्पतालकै भर हो। स्वस्थ मानिसको जाँच गर्नेतर्फ लाग्यौँ भने मात्र मिर्गौला रोगीको संख्या घटाउन सक्छौँ।
यसका लागि सरकारी निकायले देशव्यापी रूपमा निःशुल्क स्वास्थ्य जाँच गर्नु आवश्यक छ। कम्तिमा वर्षमा एक पटक निःशुल्क पिसाब जाँच गराउने सुविधा गर्नुपर्छ। यस्तै, निजी संघ–संस्था तथा कर्पोरेट सेक्टरले पनि कर्पोरेट सोसल रेस्पोन्सिबिलिटीमार्फत निःशुल्क स्वास्थ्य जाँच गराउन पहल गरिनुपर्छ। रोगी जाँच्ने मात्र होइन बिरामी नै हुन नदिने वातावरण तयार गर्नतर्फ लाग्नुपर्छ।
अहिले त रोग निको पार्ने विशेषज्ञ डाक्टरहरूको संख्या बढेको छ। अस्पताल र सुविधा बढेका छन्। तर, पनि बिरामीको संख्या घटेको छैन। कारण भनेको हामीले जे काम गरिरहेका छौँ, पर्याप्त छैन। सबैभन्दा पहिला हरेक व्यक्तिले आफ्नो शरीरलाई माया गरेर यसलाई स्वस्थ राख्न ध्यान दिनुपर्छ। शुरूआतमा समस्या पत्ता लगायौँ भने उपचार सम्भव छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
