मुख्यमन्त्रीले विश्वासको मत नपाउने भएपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएपछि राजेन्द्रसिंह रावल नेतृत्वको सुदूरपश्चिम सरकार संकटमा परेको छ। 

काठमाडौँ– सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ। सभामुख भीमबहादुर बुधबार दिउँसो एक बजेका लागि बोलाइएको बैठक बिहीबार बस्नेगरि स्थगित गरेका हुन्।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार आजको बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूचि थियो। रावलले विश्वासको मत नपाउने भएपछि बैठक स्थगित भएको हो। रावल माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका हुन्। रावलले बिहीबारसम्म विश्वासको मत नलिए स्वतः सरकार ढल्ने छ।

रावललाई माओवादीका ११, नागरिक उन्मुक्तिका सात र राप्रपाका एक सांसदको समर्थन छ। तर आफ्ना माग सम्बोधन नभएको भन्दै नागरिक उन्मुक्तिले विश्वासको मत नदिने भएपछि मुख्यमन्त्री रावल संकटमा परेका छन्। ५३ जना सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक छ। 

रावलले लिन लागेको विश्वासको मतका विषयमा बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पनि छलफल भएको थियो।