‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य’ विषयक अन्तर्राष्ट्रिय गोष्ठी नेपालमा

संयुक्त राष्ट्रसंघको सहकार्यमा यस्तो गोष्ठी यसअघि अस्ट्रिया, दक्षिण कोरिया, जर्मनी, काजकिस्तान र दक्षिण अफ्रिकामा भइसकेको छ। 

काठमाडौँ– संयुक्त राष्ट्रसंघको सहकार्यमा नेपालले आगामी जुन १२ देखि १५ सम्म ‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य’ विषयक अन्तर्राष्ट्रिय कार्यक्रम गर्ने भएको छ।

सूचना प्रविधिको तीव्रतम विकास र बदलिँदो सुरक्षा परिस्थितिअनुरूप शान्ति कार्य मिसनमा प्रयोग भइरहेका प्रविधि, चुनौती र असल अभ्यासबारे सदस्य राष्ट्रबीच अनुभव आदानप्रदान गर्न नेपालले उक्त कार्यक्रम गर्न लागेको हो। नेपालले विश्वशान्तिका लागि विगतमा गरेका प्रतिबद्धता र योगदानका आधारमा सातौँ संस्करणको अन्तर्राष्ट्रिय गोष्ठी नेपालमा गर्न लागिएको रक्षा मन्त्रालयका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए। 

गोष्ठीमा संयुक्त राष्ट्रसंघ, शान्ति सेना खटाउने मुलुक र सहयोगी संस्थाका प्रतिनिधि तथा विषयविज्ञ गरी ३०० जनाको सहभागिता रहने छ। गोष्ठीमा मुख्य नारामा आधारित अतिथि वक्ताको खुलासत्र, प्रस्तुतीकरण र विषयगत कार्य समूहमा छलफल हुनेछ। राष्ट्रसंघको आह्वानमा हालसम्म एक लाख ४४ हजार ५६५ नेपाली शान्ति सैनिकले विश्वका ४४ शान्ति मिसनमा खटिएर योगदान पुर्‍याइसकेका छन्। यस क्रममा ७२ जनाले वीरगति प्राप्त गर्नुका साथै ६६ जना गम्भीर घाइते भएका छन्।

हाल विश्वका १२ शान्ति मिसनमा ५०६ महिलासहित छ हजार ५९ सैनिक परिचालित छन्। उक्त कार्यक्रम शान्ति मिसनका कार्यादेशलाई प्रभाकारी तुल्याउन डिजिटल प्रविधि प्रयोगको सम्भाव्यता तथा संयन्त्र विकास गर्ने सन्दर्भमा महत्त्वपूर्ण साबित हुने अपेक्षा लिइएको छ। सूचना प्रविधिका विषयमा सदस्य राष्ट्रबीच सहयोग र सहकार्यका लागि छलफल गर्ने उद्देश्यले सन् २०१४ मा इटालीबाट शुरू कार्यक्रम संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति सेना खटाउने मुलुकमा पालैपालो प्रत्येक वर्ष आयोजना गरिँदै आएको छ।

यसअघि अस्ट्रिया, दक्षिण कोरिया, जर्मनी, काजकिस्तान र दक्षिण अफ्रिकामा कार्यक्रम भएको थियो। विश्वमा धेरै शान्ति सेना खटाउने मुलुकको सूचीमा नेपाल दोस्रो स्थानमा छ। यस्ता कार्यक्रम आयोजना गर्ने अवसर प्राप्त हुनु नेपालका लागि उचित मौका र राष्ट्रिय प्रतिष्ठाको विषय भएको मन्त्रालयले जनाएको छ। विश्वशान्ति कार्यमा नेपालको योगदान ठूलो भएको तर यस्ता कार्यक्रम नेपालमा नभएकाले पनि गोष्ठी महत्त्वपूर्ण रहने प्रवक्ता पौडेलले बताए। गोष्ठीमा संयुक्त राष्ट्रसंघका उपमहासचिवस्तरका प्रतिनिधिको सहभागिता रहनेछ। मानवीय, वातावरणीय, आर्थिकलगायत सुरक्षाको पाटोमा समेत त्यस अवसरमा गहन छलफल हुने बताइएको छ।

नेपाली सेनाको भूमिका, क्षमता अभिवृद्धि र मुलुकको प्रतिष्ठा वृद्धिमा यसले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। नेपालको शान्ति कार्यमा हालसम्मको भूमिका र योगदानलाई कदर गर्दै राष्ट्रसंघले कार्यक्रम गर्न सहकार्य गरेको हो।