लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचन हुँदै

राष्ट्रियसभा सदस्यका लागि कांग्रेसका माधवप्रसाद आचार्य, एमालेका कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले उम्मेदवारी दिएका छन्। 

फाइल तस्वीर

काठमाडौँ– राष्ट्रियसभामा लुम्बिनी प्रदेशबाट निर्वाचित हुने एक सदस्यका लागि बुधबार उपनिर्वाचन हुँदै छ। उपनिर्वाचन दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा हुने प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए।

मतदानका लागि बिहान १० देखि दिउँसो तीन बजेसम्मको समय तोकिएको छ। राष्ट्रियसभा सदस्यका लागि कांग्रेसका माधवप्रसाद आचार्य, एमालेका कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले उम्मेदवारी दिएका छन्। तर आचार्य र दशौदीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।

आचार्य र दशौदी दुबै रोल्पाका हुन्। आचार्य कांग्रेस रोल्पाका पूर्वसभापति हुन्। रोल्पा नगरपालिकाका बासिन्दा उनले अहिलेसम्म लाभको पद लिएका छैनन्। आचार्यलाई कांग्रेस नेतृत्वमा रहेको विपक्षी गठबन्धनले समर्थन गरेको छ।

दशौदी एमाले केन्द्रीय सदस्य हुन्। उनलाई एमाले नेतृत्वमा रहेको वर्तमान सत्ता गठबन्धनका दलको समर्थन छ। एमाले रोल्पाका पूर्वसचिव रहिसकेका दशौदीले लामो समय शिक्षण पेशा गरेका थिए।