हैदरावादमा गुन्जिए संघर्षका गजल

भारतको हैदरावादमा कमल संघर्षको गजलबाचन सम्पन्न भएको छ। सुदूरपश्चिमेली नेपाली समाज, तेलांगना राज्य समितिको आयोजनामा भएको कार्यक्रममा उनका गजलसंग्रहहरूको विमोचनसमेत गरिएको थियो।

हैदरावाद- भारतको तेलांना राज्यको हैदरावादमा गजलकार कमल संघर्षको गजल वाचन कार्यक्रम सम्पन्न भएको छ।

आइतबार संघर्षका गजलसंग्रह खुडी र सडकलाई स्वागत गर्ने कार्यक्रममा उनका गजल गुन्जिएका हुन्। सुदूरपश्चिमेली नेपाली समाज, तेलांगना राज्य समितिको आयोजनामा भएको कार्यक्रममा प्रवासमा रहेका साहित्यप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो। 

कार्यक्रममा संघर्षले करिब २ दर्जन नेपाली तथा अछामी भाषाका गजलहरू वाचन गरेका थिए। हैदरावादमा नेपाली सांगितिक कार्यक्रम भइरहे पनि साहित्यिक कार्यक्रम भने पहिलो हो।

कार्यक्रममा संघर्षसँगै १ दर्जन बढी स्रष्टाहरूले समेत गजल वाचन गरेका थिए। उक्त कार्यक्रमले प्रवासमा नेपाली साहित्यलाई विकास र विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको र आगामी दिनहरूमा अझै उत्कृष्ट कार्यक्रमहरू गर्दै जाने कार्यक्रम आयोजक समितिका संयोजक रूपक विष्टले बताए।

हैदरावादमा खुडी, सडक र संघर्ष नाम दिइएको उक्त कार्यक्रम गुजरातको सुरत र भरूच यसअघि नै सम्पन्न भइसकेको छ। त्यस्तै अक्टोबर २७ तारिख पुणे र ३० तारिख मुम्बईमा गर्ने मिति तय भइसकेको छ। प्रवासमा रहेका साहित्यिक स्रष्टाहरूले कार्यक्रमको संयोजन गरेका हुन्। यस्ता कार्यक्रमहरूले प्रवासमा नेपाली गजललाई वृहत् बनाउन टेवा पुग्ने गजलकार संघर्षले बताए।

अछामी भाषा, कला, साहित्य र संस्कृतिका क्षेत्रमा समेत सक्रिय रहेका संघर्ष नौखुवा 'छमास्या' पत्रिकाका सम्पादक समेत हुन्। उनका कैफियत २०७० संयुक्त गजलसंग्रह, सडक २०७३ एकल गजलसंग्रह तथा विभिन्न पत्रपत्रिकामा विभिन्न फुटकर लेखरचना प्रकाशित छन्।