साफ यू–२० महिला फुटबल : अमिषाको ह्याट्रिकमा भुटानमाथि नेपालको शानदार जित

आयोजक बंगलादेशसहित भुटान र भारतले सहभागिता जनाएको प्रतियोगिता नेपालले तेस्रो तथा अन्तिम खेल मंगलबार भारतसँग खेल्नेछ।

काठमाडौँ– अमिषा कार्कीको ह्याट्रिक गोलप्रेरित नेपालले साफ यू–२० महिला फुटबल प्रतियोगितामा पहिलो जित निकालेको छ।

ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल रंगशालामा आइतबार सम्पन्न खेलमा नेपालले प्रतियोगिताकै कमजोर मानिएको भुटानलाई ४–० गोलले पराजित गरेको हो। नेपालको जितमा अमिषाले ३ गोल गरिन्। कप्तान प्रिती राईले एक गोल थपेकी थिइन्।

खेलको शुरूआतदेखि नै आक्रमक बनेको नेपालले पहिलो हाफमा दुई गोल गरेको थियो। खेलको १९औँ मिनेटमा अमिषाले कप्तान तथा गोलरक्षक सोनम पेलदेन र भुटानकी एक डिफेन्डरलाई छक्काउँदै नेपाललाई अग्रता दिलाइन्।

यस्तै, पहिलो हाफको इन्ज्युरी समयमा अर्को गोल गर्दै उनले अग्रता दोब्बर बनाइन्। उनले प्रतीक्षा चौधरीले नेपालको साइडबाट दिएको बललाई कन्ट्रोल गर्दै भुटानका तीन डिफेन्डरलाई बिट गर्दै गोल गरिन्।

६१औँ मिनेटमा कप्तान प्रितीले अर्को गोल गरिन्। दीपा शाहीले प्रहार गरेको बल कप्तान तथा गोलरक्षक सोनम पेलदेनले खुस्काएपछि प्रितीले गोल लाइन नजिकबाट जाली चुमाइन्।

त्यसको दुई मिनेटमै दीपाले दिएको पासमा अमिषाले डी बक्सभन्दा बाहिरबाट खाली पोस्टमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्।

पहिलो खेलमा नेपाल बंगलादेशसँग ३–१ गोलअन्तरले पराजित भएको थियो। बंगलादेशका लागि साहिदा रिपाले २ र अक्लिमा खातुनले १ गोल गरेकी थिइन्। नेपालकी मनमाया दमाईंले एक गोल फर्काएकी थिइन्।

आयोजक बंगलादेशसहित भुटान र भारतले सहभागिता जनाएको प्रतियोगिता नेपालले तेस्रो तथा अन्तिम खेल मंगलबार भारतसँग खेल्नेछ।

सिंगल राउन्ड रोबिनमा भएको प्रतियोगितामा जितसँगै नेपालले २ अंक जोडेको छ।