राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी नदिने कांग्रेसको निर्णय

कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई सघाउने भएको छ।

‍काठमाडौँ– नेपाली कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी नदिने भएको छ।

आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको शीर्ष नेताको बैठकले माओवादी केन्द्रलाई सघाउने निर्णय गरेको हो। माओवादीले उर्मिला अर्याललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।

“राष्ट्रियसभाको उपाध्यक्षमा पार्टीले कसैलाई नउठाउने र माओवादीका उम्मेदवारलाई सघाउने निर्णय भएको छ,” बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने। आइतबार दिउँसो एकदेखि चार बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। निर्वाचन सोमबार हुनेछ।

राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएसँगै उक्त पद रिक्त थियो।