सन् २०२४ मा ताइवान र अमेरिकामा हुने चुनाव चीनका लागि युद्धको कारण र अवसर दुवै बन्नेछ। सन् २०२५ भित्रै चीनले ताइवानमा आक्रमण गर्ने र चीन–अमेरिका युद्धको शुरूआत हुने अमेरिकी अधिकारीहरूकाे दाबी छ।
अमेरिका र चीनबीच पछिल्लो समय टकराब बढ्दो छ। यी दुईबीचको सम्बन्ध हालसम्मकै खराब अवस्थामा पुगेको छ। यसलाई अमेरिकी हवाई सेनाका वरिष्ठ अधिकारी माइक मिनिहानले पुष्टि गरेका छन्।
उनले चीन र अमेरिकाबीच दुई वर्षभित्र अर्थात् सन् २०२५ सम्ममा सशस्त्र युद्ध हुने चेतावनी दिएका छन्। यस अवश्यम्भावी युद्धको शुरूआत ताइवानबाट हुने उनको प्रक्षेपण छ। मिनिहानले हवाई सैन्य बलका एक लाख १० हजार सदस्यलाई सम्बोधन गर्दै लेखेको आन्तरिक पत्रमा भनेका छन्, “मेरो अन्तर्आत्माले भन्छ, हामी सन् २०२५ मा युद्ध लड्नेछौँ। आशा छ म गलत बनूँ।” उनी लेख्छन्, “चिनियाँ राष्ट्रपति सी चिनफिङले तेस्रो कार्यकाल पनि आफूलाई सुरक्षित बनाए। सन् २०२२ को अक्टोबरमा युद्ध परिषद् पनि गठन भइसक्यो। सन् २०२४ मा ताइवान र अमेरिकी दुवै देशमा राष्ट्रपतीय चुनाव हुँदै छ। जसमा ताइवानको चुनाव सीका लागि एक कारण बन्नेछ भने अमेरिकी चुनावले सीमाझ विचलित अमेरिका देखाइदिनेछ। सीको समूहलाई युद्धका लागि आवश्यक कारण र अवसर दुवै जुरेको छ सन् २०२५ मा।”

चीनले ताइवानमा सैन्य आक्रमण गर्नका लागि यो राम्रो मौका भएकोमा उनको जोड छ। यति मात्र होइन उनले आफ्नो हवाई बललाई युद्धका लागि तयार रहन पनि आग्रह गरेका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको ताइवान आक्रमणको आकांक्षा र अमेरिकाले समय गुज्रिसकेपछि मात्र चाल पाउने संभावनाबीच उनले आफूलाई तयारी अवस्थामा राख्न हवाई सेनाहरूको ध्यानाकर्षण गराएका हुन्। चीनबारे राम्रो बुझाई रहेका मिनिहानको यो प्रक्षेपणले धेरैलाई आश्चर्यमा पारेको छ। सन् २०२१ मा एयर मोबिलिटीको कमान्ड सम्हालेका मिनिहानले सन् २०१३ को शुरूआतदेखि नै प्यासिफिक क्षेत्रमा प्रभावकारी भूमिका खेलिसकेका छन्।
तर मिनिहानको विचारले रक्षा विभाग विश्लेषणको प्रतिनिधित्व नगर्ने अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनको भनाइ छ। उनको अभिव्यक्ति पेन्टागनको प्रक्षेपण र तयारीसँग मेल नखाने तर यसबारे चासो रहेकाले चीनले ताइवानमाथि दबाब बढाउने प्रयासका लागि उच्च सतर्कता अपनाइएको पेन्टागनको भनाइ छ। अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले पनि गत महिना ताइवान नजिकै चिनियाँ गतिविधि बढेको र यो चीनले तत्काल ताइवान आक्रमण गर्नसक्ने संकेत भएको बताएका थिए। यसै सन्दर्भमा पेन्टागनका प्रवक्ता ब्रिगेडियर जेनेरल प्याट्रिक राइडर भन्छन्, “चीन अमेरिकी रक्षा मन्त्रालयका लागि चुनौती हो। त्यसैले स्वतन्त्रता, शान्ति र खुला इन्डो प्यासिफिकका लागि। हाम्रा अधिकारीहरूले मित्रराष्ट्र र साझेदारहरूसँग मिलेर काम गरिरहेका छन्।”
अमेरिका र चीनबीच सम्भावित युद्धबारे खुलेर अभिव्यक्ति दिने मिनिहान मात्र होइनन्, यसअघि अमेरिकाका इन्डो–प्यासिफिक कमान्ड प्रमुख एडम फिल डेभिडसनले पनि सम्भावित युद्धबारे बोलेका छन्। डेभिडसनले सन् २०२१ मा बेइजिङले सन् २०२७ सम्ममा ताइवानमाथि आक्रमणको प्रयास गर्ने बताएका थिए। अमेरिकी जलसेना प्रमुख माइक गिल्डेले समेत केही समयअघि २०२२ वा २०२३ मा युद्ध हुनसक्ने खालको संकेत दिँदै तयारी अवस्थामा रहनुपर्ने भनेका थिए। उनले भने, “मैले सम्भावनाको कुरा गरेको हो। युद्ध नचाहे पनि हामी चिन्ताजनक अवस्थाका लागि तयार रहनुपर्छ।”
अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङको सैन्य बिस्तारलाई ध्यानमा राख्दै चीन अमेरिकाको दीर्घकालीन प्राथमिकता रहेको घोषणा नै गरेका छन्।
युद्ध हुने सम्भावित आधार
विश्व राजनीतिका महत्त्वपूर्ण हस्ती अमेरिका र चीनबीच शक्ति प्रदर्शनका क्रममा प्रत्यक्ष परोक्ष रूपमा प्रतिस्पर्धा हुनु नौलो विषय होइन। आर्थिक नाकाबन्दीपछि शीतयुद्धमा रहेका यी दुईबीचको सम्बन्ध हाल अहिलेसम्मकै खराब स्थितिमा छ।
छोटो समयमै आर्थिक समृद्धि हासिल गरेको चीन अहिले अमेरिकाको प्रतिस्पर्धी भएको छ। आर्थिक, सामाजिक, राजनीतिक र प्राविधिक रूपमा सफल यी दुई मुलुक आफूलाई अब्बल साबित गर्न हरेक किसिमको चाल चलिरहेका छन्। पछिल्लो समय उनीहरू भूराजनीतिक कूटनीति बिस्तारमा व्यस्त छन्। प्रशान्तीय क्षेत्रमा आफ्नो प्रभुत्व कायम गर्न खोजेको, आर्थिक र प्राविधिक सहयोगका नाममा साना देशलाई प्रभाव पार्न खोजेको, मुद्राको अवमूल्यन गरेको, ताइवानमाथि आक्रमण गर्न खोजेको, अल्पसंख्यक र आदिवासी चिनियाँ नागरिकको मानवअधिकार हनन गरेको आरोप अमेरिकाले चीनमाथि लगाएको छ।
यस्तै चीनले साउथ चाइना सी (चीन र अमेरिका दुवैले आ आफ्नो दाबी गर्ने)मा अवैधानिक गतिविधि बढाएको, युक्रेनसँगको युद्धमा रूसलाई साथ दिएको, उत्तर कोरियालाई युद्धका लागि उकासेको र हतियार सहयोग गरेको, अमेरिकी सरकारी कार्यालय र व्यापारिक कार्यालयमा साइबर आक्रमण र गुप्तचर पठाएकोलगायत दर्जनौँ आरोप अमेरिकाले लगाएको छ। तर आफूमाथिका सबै आरोप खण्डन गर्दै अफवाह नफैलाउन चीनले अमेरिकालाई चेतावनी दिएको छ।
विश्वमा चीनको छवि बिगार्न अमेरिकाले अनेक हत्कण्डा अपनाएको चीनको आरोप छ। चीनविरूद्धका प्रोपागान्डा, छलकपट, दबाब र प्रभावले आफूहरू नगल्ने राष्ट्रपति सीको भनाइ छ। ताइवान मामिलाबाट परै बस्न राष्ट्रपति सी चिनफिङले अमेरिकालाई चेतावनी दिएका छन्। आफ्नै भूभाग भएको भन्दै चीन ताइवानलाई आफ्नो देशमा गाभ्न चाहन्छ। चीनले शान्तिपूर्ण ढंगले ताइवानलाई आफ्नो भूमिमा गाभ्ने भनेको छ। तर अमेरिकाले हस्तक्षेप गरे प्रतिवादमा उत्रिने चीनको चेतावनी छ। चीनले ताइवानी सीमामा सैन्य गतिविधि तीव्र पारेको छ।
कूटनीतिक, सैन्य र आर्थिक दबाब बढाएर ताइवानलाई बेइजिङको कानुन स्विकार्न बाध्य पार्ने प्रयासमा चीन छ। तर, आफूलाई स्वतन्त्र र सार्वभौम देशका रूपमा चिनाउने ताइवान भने कुनै हालतमा चीनमा गाभिन चाहन्न। यदि चीनले आफूलाई आक्रमण गरे शान्ति र प्रजातन्त्र रक्षाका लागि प्रतिकार गर्ने उनको अडान छ। मुलुकको सीमा रक्षा र चीनबाट सम्भावित आक्रमणको तयारीका लागि भन्दै ताइवानले अमेरिकासँग सैन्य सहयोग लिने गरेको छ। अमेरिकाले ताइवानलाई हातहतियार बिक्री गरिरहेको विषयमा आपत्ति जनाउँदै त्यसो नगर्न चीनले बारम्बार चेतावनी दिइरहेको छ।
ताइवान मामिलामा अमेरिका
विकास र समृद्धिमा उदाहरणीय चीन र अमेरिकाबीचको तिक्तता ताइवानका कारण थप शत्रुतापूर्ण बनेको छ। यसअघि एक अर्काका उत्पादनमा प्रतिबन्ध लगाएका यी देश अहिले सबैभन्दा बढी ताइवान मामिलाप्रति सशंकित देखिन्छन्।
चीनको व्यापार नीति र बौद्धिक सम्पत्ति चोरीको विषयलाई कारण देखाएर सन् २०१८ मा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग आर्थिक प्रतिबन्धको शुरूआत गरेका थिए। त्यसयता खस्किएको द्विपक्षीय सम्बन्ध अमेरिकी सभामुख न्यासी पेलोसीको ताइवानको भ्रमणपछि थप खराब बनेको हो।
चीनको चेतावनीका बाबजुद ताइवानको भ्रमणमा निस्किएकी पेलोसीले अमेरिका ताइवान र ताइवानी जनताको साथमा रहने बताएकी थिइन्। “अहिले विश्वले प्रजातन्त्र र निरकुंशतामध्ये एक छान्नुपर्ने स्थितिको सामना गरेको छ। प्रजातन्त्र रक्षाका लागि अमेरिकी प्रतिबद्धता ताइवान र बाँकी विश्वका लागि उस्तै रहनेछ,”, पेलोसीको भनाइ थियो।
ताइवानकी राष्ट्रपति साई इन वेनले पनि चीनको सैन्य धम्कीले आफूहरू पछि नहट्ने भन्दै प्रजातन्त्र रक्षा र सार्वभौम मुलुकका लागि निरन्तर लडिरहने प्रतिबद्धता समेत गरेकी थिइन्। पछिल्लो २५ वर्षयता ताइवानको भ्रमणमा जाने सभामुख पेलोसी पहिलो अमेरिकी उच्च सरकारी पदाधिकारी हुन्।

अमेरिकाले ताइवानको स्वतन्त्रता रक्षा गर्न अन्तिमसम्म साथ दिने प्रतिबद्धता दिएपछि नै चीन बढी सशंकित बनेको हो। दशकौँदेखि आफ्नो मानेको भूमिमा अमेरिकी हस्तक्षेप उसलाई स्वीकार्य छैन। पेलोसीको भ्रमणपछि चीनले ताइवानको सामुद्रिक र हवाई क्षेत्रमा वृहत् सैन्य अभ्यास गरेको थियो भने सीमा क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिरहेको छ।
अर्कातर्फ रुस र युक्रेन युद्धमा हस्तक्षेप नगर्ने बताएर उसले युद्धमा मौन स्वीकारोक्ति दिएको पश्चिमा मिडियाको टिप्पणी छ। ताइवान मामिलामा पनि अमेरिका टाढै बसोस् भन्ने चीनको चाहना हो। तर अमेरिका अब ताइवान समर्थनबाट पछि हट्न चाहँदैन। त्यसैले तनाव बढ्ने थप संकेत देखिएका छन्।
अमेरिका र चीनका शंकास्पद गतिविधि
साइबर आक्रमण, बौद्धिक सम्पत्ति चोरीजस्ता विषयमा चीन अमेरिका दुवैले एक अर्कालाई दोषी देखाउँदै आएका छन्। तर दुवैले आरोपको खण्डन गरिरहन्छन्। केही महिनाअघि अमेरिकाका विभिन्न स्थानबाट दर्जनौँ चिनियाँ गुप्तचर पक्राउ परेका थिए। जसमा चीनले विदेशमा आफ्ना यस्ता गतिविधि नभएको भन्दै खण्डन गरेको थियो।
चीनले पनि साइबर आक्रमणहरूमा अमेरिकी गुप्तचरहरू संलग्न भएको भन्दै बेला बेला चेतावनी दिँदै आएको छ। यति मात्र होइन प्रशान्तीय क्षेत्रमा पनि आफ्नो प्रभुत्व कायम गर्न दुई देशबीच कडा प्रतिस्पर्धा छ। विभिन्न मुलुकहरूलाई आफ्नो पक्षमा पर्ने कूटनीतिका लागि पनि दुवै देश परिचित छन्।
यसैबीच, केही दिनदेखि शंकास्पद चिनियाँ निगरानी बेलुनहरू (सिर्भिलेन्स बेलुन) अमेरिकाका संवेदनशील क्षेत्रमा उडिरहेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ। हाई अल्टिच्यूड सर्भिलेन्स बेलुनहरू पछिल्लो समय अमेरिकाको मोन्टानामा देखिएको अमेरिकाको दाबी छ। अमेरिकाको मोन्टाना राज्यका गभर्नर ग्रेग जीयानफोर्टेले विज्ञप्ति जारी गर्दै आफूलाई अवस्था निकै गम्भीर भनेर व्याख्या गरिएको बताएका छन्। यस्तै, अमेरिकी केन्द्रीय अनुसन्धान विभाग सीआईएका निर्देशक विलियम बर्नस्ले पनि चीन अमेरिकाका लागि सबैभन्दा ठूलो भूराजनीतिक चुनौती भएको बताएका थिए।
क्यानडाले समेत यी बेलुनहरूको निगरानी गरिरहेको बताएको छ। तर, कुन देशका हुन भनेर दाबी गरेको छैन। क्यानडाले भनेको छ, “विदेशी गुप्तचरको जोखिमबाट क्यानडाको संवेदनशील सूचना रक्षा गर्न हामीले मित्रराष्ट्र अमेरिकासँग मिलेर काम गरिरहेका छौँ।”
यस्तो प्रकारको बेलुन अमेरिकाको मोन्टानाको बिलिङ्स आसपास देखिनुअघि अमेरिकाको अलास्का वरपर र क्यानडामा पनि देखिएको थियो। अमेरिकी सिनेटको गुप्तचर कमिटीका रिपब्लिकन सांसद मार्को रूबियो भन्छन्, “बेइजिङले हाम्रो मुलुकलक्षित गुप्तचरी गर्ने क्रम पाँच वर्षयता नाटकीय रूपले बढेको छ। यो लज्जास्पद छ।”
एजेन्सीको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
