उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ मैदान उत्रिन्छौँ : प्रशिक्षक गुरुङ

नेपालले प्रतियोगिताको पहिलो खेलमा शुक्रबार आयोजक बंगलादेशसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ।

फाइल तस्वीर

काठमाडौँ– नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले आफूहरू उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ साफ यू–१८ फुटबल प्रतियोगिताको लागि मैदान उत्रिने बताएका छन्। बिहीबार प्रतियोगिताको प्रि–म्याच कन्फेरेन्समा बोल्दै उनले नेपाल टोलीले राम्रो तयारी गरेको भन्दै बलियो प्रतिस्पर्धाका लागि मैदान उत्रिने बताएका हुन्।

"प्रतियोगिताको लागि राम्रो तयारी गरेका छौँ। नेपाली टोली उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ मैदानमा उत्रिनका लागि तयार छ", उनले भने। सहभागी चारै टोलीको स्तर समान रहेको पनि उनले बताए। तर, प्रतियोगितामा आयोजक बंगलादेशलाई केही फाइदा पुग्ने उनको भनाइ छ। "प्रतियोगिता प्रतिस्पर्धात्मक छ। आयोजक राष्ट्र भएको कारण बंगलादेशलाई केही फाइदा पुग्ने छ", उनले भने, "तर प्रतियोगिताको नतिजा नेपालको पक्षमा आउनेमा विश्वस्त छु।"

नेपाली टोलीकी कप्तान प्रिती राईले भारतसँग विश्वकप खेलेको टोली र बंगलादेश बलियो प्रतिद्वन्द्वी भएको कारण राम्रो नजिताका लागि कडा मिहिनेतका साथ खेल्ने बताइन्। "भारतसँग यू–१७ विश्वकप खेलेको अनुभव छ। बंगलादेश आयोजक हो, भुटानले पनि पछिल्लो समय उत्कृष्ट खेल्दै आएको छ", उनी भन्छिन्।

बंगलादेशको राजधानी ढाकामा हुने प्रतियोगिताको लागि नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको थियो। प्रतियोगितामा आयोजक बंगलादेशसँगै नेपाल, भारत र भुटानको सहभागिता छ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा शुक्रबार आयोजक बंगलादेशसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। सिंगल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन्।