सहज जीवन यापनको आशमा अफगानीहरू ज्यानको बाजी लगाएर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेयता सुरक्षा र सहज जीवन यापनको कल्पना गर्दै हजारौँ अफगानी नागरिक विस्थापित भएका छन्। कतिपय छिमेकी मुलुकमा शरणार्थीका बनेर बसिरहेका छन् भने कतिपय सहज जीवन यापनका लागि अमेरिकाको यात्रामा निस्किए। तर, यात्रा सहज थिएन। यसरी अमेरिका जानेहरूको यात्रा मानवीय सहायतासम्बन्धी भिसामा ब्राजिल पुगेपछि शुरू हुन्छ।
ल्याटिन अमेरिकाका ११ वटा देश छिचोलेर उनीहरू अमेरिकी सीमासम्म पुग्छन्। पछिल्लो समय अमेरिका–मेक्सिको सीमा क्षेत्रमा अफगानी नागरिकहरूको संख्या बढिरहेको डीडब्लू हिन्दीले उल्लेख गरेको छ।
११ वटा देशको पैदल यात्रामा तय गर्नु चानचुने कुरा होइन। यति मात्र होइन, यी देशहरूमा व्याप्त चोरी, अपहरण र हत्यासम्मको स्थितिको बेवास्ता गर्दै अफगानी नागरिकले जोखिमपूर्ण यात्रा गरिरहेका छन्। प्रत्येक महिना सयौँ अफगानी नागरिकले ज्यानको बाजी लगाएर यस्तो कठिन यात्रा गर्दै आएको समाचारमा उल्लेख छ।
अमेरिकी सरकारको तथ्यांकअनुसार सन् २०२२ मा सीमा क्षेत्रबाट २ हजार १३२ जना अफगानी नागरिक पक्राउ परेका थिए। पक्राउ पर्ने अफगानीहरूको संख्या एक वर्षमै ३० गुणासम्म बढेको छ।
जसमा आधाभन्दा बढी अफगानी नागरिक सन् २०२२ को डिसेम्बरमा मात्र अमेरिका पुगेका थिए। समाचार संस्था रोयटर्सले यसरी यात्रा गरेका एक दर्जन अफगानीसँग कुरा गरेको जनाएको छ। जसमध्ये ११ जना अमेरिका पुग्न सफल भएको तर अर्का एक बेखबर रहेको उल्लेख गरेको छ। सोधपुछका क्रममा उनीहरूले ब्राजिलमा नयाँ जीवन शुरू गर्ने कठिन भएकाले हिँडेरै अमेरिकातर्फ गएको बताएका थिए।
अफगानिस्तानमा जारी आर्थिक, मानवीय संकट, सामाजिक गतिविधिमा बन्देज, हिंसा र अतिवादका कारण धेरै नागरिक विस्थापित हुनुपरेको छ। अफगानिस्तानभित्रको संकट समाधान गर्न नसकिएको र मुलुक छाडेर जानेहरूको सहायतामा समेत कमी देखिएको डीडब्लूले जनाएको छ।
यस सम्बन्धमा अमेरिकी विदेश मन्त्रालयले रोयटर्ससँग भनेको छ, “पछिल्ला दुई दशकमा अमेरिकासँग काँधमा काँध मिलाएर लडेका बहादुर अफगानीहरूका लागि भिसाको कामलाई तीव्र रूपमा अघि बढाउने काम भइरहेको छ।”
साथै मन्त्रालयले अनियमित आप्रवासन रोक्नका लागि अन्य देशलाई सहयोगका लागि प्रस्तावसमेत गरिएको बताएको छ। संयुक्त राष्ट्रसंघ शरणार्थी नियोग युएनएचसीआरका अनुसार ब्राजिलको भिसा कार्यक्रमले महत्त्वपूर्ण योगदान दिएको छ। हाल मानवीय भिसामार्फत करिब ४ हजार अफगानी नागरिक ब्राजिल प्रवेश गरिसकेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
