खरिद प्रक्रिया पारदर्शी बनाउन स्वास्थ्यमन्त्री गिरीको निर्देशन

स्वास्थ्यमन्त्री पदम गिरीले खरिद प्रक्रियामा 'हन्ड्रेड परसेन्ट' शुद्धता कायम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले स्वास्थ्य सामग्री खरिद प्रक्रिया पारदर्शी बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन्।

बिहीबार काठमाडौँको टेकुस्थित स्वास्थ्य सेवा विभागको अनुगमनका क्रममा उनले खरिद प्रक्रियामा गुनासो नआउने गरी काम गर्न निर्देशन दिएका हुन्। मन्त्री गिरीले नीतिगत भ्रष्टाचार निरुत्साहित पार्न पनि सचेत गराए।

“खरिद प्रक्रियामा हन्ड्रेड परसेन्ट शुद्धता कायम गरियोस्। त्यहाँ कुनै पनि किसिमको नीतिगत भ्रष्टाचारको वा स्वार्थ अनुकूलका काम गर्ने भएको छ भने त्यसलाई पूरा निरुत्साहित बनाउनु पर्दछ। यो कुरामा सम्बन्धितको ध्यान जाओस्। स्वास्थ्य संस्थाहरूलाई प्रविधिमैत्री बनाउनु पर्दछ,” उनले भने।

मन्त्री गिरीले जनताप्रति उत्तरदायी भएर सेवाप्रवाहमा ध्यान दिन स्वास्थ्य सेवा विभागको ध्यानाकर्षण गराए। उनले स्वास्थ्य उपकरणको दुरुपयोग नगर्न पनि मातहतका निकायले सचेत भएर काम गर्नुपर्ने बताए।

मन्त्री गिरीले विभागले महँगोमा उपकरण खरिद गर्ने तर जनताले त्यसबाट सेवा नपाउने अवस्था आइरहेकाले त्यस्तो अवस्था आउन नदिनेगरी काम गर्नु पर्ने पनि स्पष्ट पारे।

मन्त्री गिरीले जनताको गुनासोलाई सम्बोधन हुनेगरी आवश्यक योजना बनाएर काम गरे आफूले त्यसमा आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता गरे।

त्यसक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले आफूमातहतका निकायले सम्पादन गरेका कामबारे मन्त्री गिरीलाई जानकारी गराएका थिए।