प्रशान्त महासागर क्षेत्रमा चीनको बढ्दो प्रभावलाई विफल पार्ने उद्देश्यले अमेरिकाले सोलोमन आइल्यान्डस्मा दूतावास खोलेर रणनीतिक कदम चालेको बीबीसीले उल्लेख गरेको छ।
अमेरिकाले सोलोमन आइल्यान्डस्को राजधानी होनियारामा ३० वर्षपछि बुधबार पुनः दूतावास खोलेको छ। होनियारामा दूतावास खुला गर्दै अमेरिकाले सोलोमन आइल्यान्डस् र अमेरिकाबीचको स्थायी सम्बन्धलाई मजबुत बनाउने प्रतिबद्धता गरेको छ।
सोलोमनका विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी दूतावासलाई सरकारले स्वागत गरेको बताए। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले होनियारास्थित दूतावासले अमेरिका–प्रशान्तीय साझेदारीको लक्ष्य बिस्तारमा सहयोग गर्ने बताए। भिडियोमार्फत सम्बोधन गरेका ब्लिन्केनले यस क्षेत्रका लागि महत्त्वपूर्ण पल भएको उल्लेख गरे।
सन् १९९३ मा चीनको सैन्य हस्तक्षेप हुने जोखिमले आइल्यान्डस्को होनियारा तटीय क्षेत्रस्थित अमेरिकी दूतावास हटाइएको अमेरिकाले ३० वर्षपछि पुनः दूतावास खोलेको हो। यसबीचमा प्रशान्तीय क्षेत्रमा अमेरिकाको कूटनीतिक सहभागिता हालसम्म पपुवा न्यु गिनी तटीय क्षेत्रमा सीमित थियो।
एशिया र प्रशान्तीय मित्रराष्ट्र अस्ट्रेलियासम्म पहुँच पुर्याउन अमेरिकाका लागि सो क्षेत्र रणनीतिक हिसाबले महत्त्वपूर्ण छ। प्रशान्त महासागर र यस क्षेत्रमा चीनको बढ्दो प्रभावलाई विफल पार्न र उसको प्रभुत्व रोक्न अमेरिकाले रणनीति कदमका चाल्दै सोलोमन आइल्यान्डस्मा दूतावास खोलेको बीबीसीले उल्लेख गरेको छ।
प्रशान्त क्षेत्रमा बेइजिङको बढ्दो प्रभाव र सैन्य बिस्तारप्रति चासो दिँदै पछिल्ला वर्षहरूमा अमेरिका र अस्ट्रेलियाले ध्यान केन्द्रीत गर्दै आएका छन्। गत सेप्टेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रशान्तीय क्षेत्रका १४ वटा टापु देशहरूका सरकार प्रमुखलाई ह्वाइट हाउस बोलाएर सम्मेलन गरेका थिए। त्यसक्रममा ह्वाइट हाउसले द्विपक्षीय साझेदारी र विकासका लागि ती टापु मुलुकहरूसँग सम्झौतासमेत गरेको थियो।
सोलोमन आइल्यान्डस्का प्रधानमन्त्री मिनासे सोगाभारेले पनि सम्झौतामा हस्ताक्षर गरेका थिए। यता, बेइजिङले पनि गत वर्ष यस क्षेत्रमा आफ्नो प्रभाव बढाउने केही प्रयास गरेको थियो। त्यसबीचमा विदेशमन्त्री वाङ यीले सोलोमन आइल्यान्डस्को भ्रमणसमेत गरेका थिए।
भ्रमणका क्रममा उनले भनेका थिए, “कसैसँग प्रतिस्पर्धा गर्ने चीनको कुनै अभिप्राय छैन। भूराजनीतिक प्रतिस्पर्धा र कसैलाई प्रभाव पार्नकै लागि भनेर कहिल्यै काम गरेका छैनौँ।”
पछिल्लो समय प्रशान्तीय आइल्यान्डस्को सबैभन्दा ठूलो र प्रभावशाली देश फिजीले चीनसँग हुने भनिएको प्रहरी प्रशिक्षण आदानप्रदान कार्यक्रम रद्द गरेको छ। फिजी केही समयअघि चीनको नजिकको साझेदार देश थियो।
तर, गत डिसेम्बरमा फिजीको नवनिर्वाचित सरकारले चीनभन्दा अस्ट्रेलिया, न्युजिल्यान्डजस्ता प्रशान्तीय देशहरूको साथ दिने संकेत गरेको छ। यी दुई मुलुक प्यासिफिक आइल्यान्डस् फोरम (पीआईएफ) का सदस्यसमेत हुन्।
सोलोमन आइल्यान्डस् सयौँ टापुहरू मिलेर बनेको देश हो। त्यहाँ साढे ७ लाख मानिसहरू बसोबास गर्छन्। सामुद्रिक क्षेत्रका सयौँ टापु रहेको यो देश प्रशान्तीय क्षेत्रमा पहुँच बिस्तारका गर्न अमेरिकाका लागि महत्त्वपूर्ण स्थान रहँदै आएको छ। यो स्थानले विशेषगरी चीनसँग प्रतिस्पर्धा गर्न र उसको शक्ति कमजोर पार्ने अमेरिकी रणनीतिलाई फाइदा पुग्ने भूराजनीतिक विश्लेषकहरूको बुझाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
