अरू सबैमा ठीकठाक छ पोखरा, तर उपचार र उच्च शिक्षामा काठमाडौँकै भर

सरसफाइ, रोजगारी, आर्थिक गतिविधि, विद्यालय शिक्षा र अन्य दैनन्दिनको जीवनमा पोखरेलीलाई असहज छैन। समृद्ध शहर भएर पनि जटिल रोगको उपचार र उच्च शिक्षाका लागि पोखराबासीलाई काठमाडौँकै भर गर्नुपर्ने बाध्यता छ।

पोखरा- पोखराका तत्कालीन महानगर प्रमुख मानबहादुर जीसी गम्भीर बिरामी परेपछि २०७८ साउन १ गते मनिपाल अस्पताल भर्ना भए। त्यहाँ उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत काठमाडौँ लगियो। बाँसबारीस्थित न्युरो अस्पतालमा उनको उपचार भयो। मस्तिष्कघातको उपचार पोखरामा सम्भव नहुँदा उनलाई काठमाडौँ लैजानु परेको थियो।

पोखरामा जटिल बिरामीको उपचार सम्भव नहुँदा बिरामीलाई काठमाडौँ नै लैजानुपर्ने बाध्यता छ। देशकै प्रमुख पर्यटकीय शहर भए पनि पोखराले स्वास्थ्य र शिक्षामा नागरिकलाई आकर्षित गर्न नसकेको यहाँका स्थानीय बताउँछन्।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका वरिष्ठ मेडिकल रेकर्डर अधिकृत भीम पौडेल उपचारमा आउने कतिपय बिरामी आफैँले थप उपचारका लागि काठमाडौँ रोज्ने गरेको बताउँछन्। उनका अनुसार जटिल रोगहरूका लागि भने पोखराका चिकित्सकले नै काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल ‘रिफर’ गर्ने गरेका छन्।

त्यसैगरी, बच्चाको हकमा कान्ति बाल अस्पताल र हृदयघातसम्बन्धी रोगका लागि गंगालाल अस्पताल रिफर गरिन्छ। क्यान्सरको उपचार पोखरामा नहुने हुँदा बिरामीको रोजाइ भरतपुर क्यान्सर अस्पताल हुने गरेको उनको भनाइ छ।

गण्डकी प्रदेशकै जेठो अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, निजी क्षेत्रका मनिपाल, चरक मेमोरियल, फिस्टेल, फेवासिटी, गण्डकी मेडिकल कलेज, मेट्रोसिटी, रिजनल, पश्चिमाञ्चल सामुदायिकलगायत दर्जन अस्पताल पोखरामा छन्। तर जटिल रोगको उपचार पोखरामा नहुँदा काठमाडौँ नै जानुपर्ने बाध्यता भएको स्थानीयको भनाइ छ।

यद्यपि, गण्डकी प्रदेशकै ठूलो अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा.भरत खत्री पोखरामा धेरै रोगको उपचार सम्भव हुन थालेको बताउँछन्। तर सम्पूर्ण रूपमा उपचार हुनसक्ने अवस्था नभएको उनको भनाइ छ। “काठमाडौँ जान मन लागेर जाने त छुट्टै हो, तर आजभन्दा १० वर्षपहिले र अहिले धेरै फरक अवस्था छ”, उनले भने।

अहिले जीएमसी, मनिपाल र पश्चिमाञ्चल अस्पतालमा न्युरो उपचार शुरू भएको खत्रीले बताए। पोखरामै मुटु रोगको उपचार पनि शुरू भएको उनले जानकारी दिए। “अहिले मिर्गौलाको डायलाइसिस हुन थाल्यो। प्लास्टिक सर्जरी पनि हुन्छ। पोखरामा धेरै रोगको उपचार हुन थाले पनि पर्याप्त भने छैन,” उनले भने।

डा.भरत खत्रीका अनुसार क्यान्सरको रेडियोथेरापी पोखरामा हुँदैन। यसअघि मनिपाल अस्पतालले क्यान्सरको केमोथेरापी (सेक्ने मेसिन) भित्राए पनि उक्त सेवालाई निरन्तरता दिन नसकेको खत्री बताउँछन्। "एउटै मेसिनको ६० देखि ७० करोड रुपैयाँ खर्च लाग्ने भएकाले पनि यो मेसिन सञ्चालनमा ल्याउन जटिल भएको हो," उनले भने।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मागअनुसार व्यवस्थापन हुन नसक्दा केही कठिनाइ भएको उनको भनाइ छ। “सन्तोष गर्न मिल्ने ठाउँ धेरै छन्। सुधार गर्नुपर्ने ठाउँ पनि छन्,” उनी भन्छन्, “काठमाडौँले विदेशीसँग प्रतिस्पर्धा हुनेगरी काम गर्नुपर्छ। पोखराले काठमाडौँको स्तरको सेवा व्यवस्थापन गर्न सक्ने हुनुपर्छ।”

उच्च शिक्षाका लागि विद्यार्थी पलायन!
नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष रोमशरण पौडेलका अनुसार १२ कक्षापछि उच्च शिक्षाका लागि धेरै विद्यार्थीले पोखरा रोज्दैनन्। पौडेल भन्छन्, “प्लस टुसम्म धेरैजसो यतै पढ्छन्। त्यसपछि उच्च शिक्षा पढ्न बाहिरी मुलुक जाने सपना बोकेका हुन्छन्, पोखराभन्दा काठमाडौँबाट सहज हुने आशाले धेरै विद्यार्थी उतै जाने गर्छन्।”

शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले उपलब्ध गराएको तथ्यांकमा कास्की जिल्लाभर सामुदायिक ३७४ र संस्थात २४४ गरी ६१८ विद्यालय छन्। शैक्षिक सत्र २०७९ मा कास्कीमा १ देखि १२ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीको संख्या ६७ हजार ३३७  छात्रा र ८० हजार १८१ छात्र गरी जम्मा एक लाख ४७ हजार ४५५ वद्यार्थी अध्ययनरत् छन्।

उच्च शिक्षाका लागि गण्डकी क्षेत्रकै पुरानो पृथ्वीनारायण क्याम्पस, पोखरा विश्वविद्यालय, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा वन विज्ञान अध्ययन संस्थान छन्। प्राविधिकतर्फ गण्डकी बहुप्राविधिक शिक्षालय छ। गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालय सञ्चालनमा ल्याएको छ। निजी क्षेत्रबाट सञ्चालित पोखरा इन्जिनियरिङ कलेज, गण्डकी मेडिकल कलेज, रिजनल कलेज छन्।

राम्रा शिक्षक, प्राध्यापक र डाक्टर अवसरको खोजीमा काठमाडौँमै बसिदिनाले पनि सेवाको गुणस्तरमा कमी आएको हुन सक्‍ने शिक्षक संगठन अध्यक्ष पौडेल बताउँछन्। “यहीँका योग्य मान्छे पनि काठमाडौँ गएर बसेका छन्। यहाँ के अवसर छ र भन्ने छ,” उनी भन्छन्।

राज्यको नीति नियम अव्यवस्थित हुँदा यस्तो परिस्थिति आएको पृथ्वीनारायण क्याम्पसका पूर्वप्रमुख गेहेन्द्र कोइराला बताउँछन्। “शिक्षा, स्वास्थ्यमा सुधार ल्याउन राजधानीमुखी हुन छाड्नुपर्छ। प्रदेशहरूले शिक्षा र स्वास्थ्य क्षेत्रमा स्पष्ट नीति ल्याउनुपर्छ,” उनले भने, “राजधानी जानुपर्ने त बाध्यता हो।”

अध्येता शेखर पराजुली यसलाई एकात्मक शासन प्रणालीको असरका रूपमा लिन्छन्। “लामो समयदेखि एकात्मक शासनमा थियौँ। संघीयता भर्खर आएको हो। एकात्मक शासनले काठमाडौँ केन्द्रित बनायो,” उनी भन्छन्, “यो मानसिकता एकदमै जब्बर छ। काठमाडौँ केन्द्रित मानसिकताले स्रोतको केन्द्रीकरण भयो। केही चिजको पनि विकेन्द्रीकरण भएन।”

देशमा संघीयता आए पनि सेवा, सुविधामा भने विकेन्द्रीकरण हुन नसकेको उनको भनाइ छ। शक्ति बाँडफाँट नहुनु समस्या भएको उनी बताउँछन्। “प्रदेशहरू बलिया भएका छैनन्। अधिकार नै छैन,” उनी भन्‍छन्, “स्थानीय सरकारलाई विश्वविद्यालय, अस्पताल खोल्ने अधिकार दिइएको छैन। मान्छेमा जसरी भए पनि काठमाडौँ जानैपर्ने सोच र बाध्यता दुवै छ।”

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा अध्येता आनन्दराज मूल्मी पोखराले शिक्षा र स्वास्थ्यको क्षेत्रमा विस्तारै फड्को मारेको बताउँछन्। पोखरेलीको अथक मेहनत र प्रयासपछि पोखरा विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पस, इन्जिनियरिङ, वन विज्ञान साथै मेडिकल शिक्षा पनि पोखरामा शुरू भएको उनी सम्झन्छन्।

“शिक्षामा पोखराले उपलब्धिमूलक फड्को त मार्‍यो, तर अहिले गुणस्तर अलिकति खस्केको छ,” उनी भन्छन्, “शुरूआतमा यो एकदमै एक्सलेन्ट सेन्टरका रुपमा विकास भएको हो।”

अन्य क्षेत्रबाट विद्यार्थीलाई पोखरामा आकर्षण गर्ने माहोल तयार गर्न नसकेको उनी बताउँछन्। स्तरीय शिक्षा हुँदाहुँदै पनि प्रवर्धन हुन नसकेको उनको भनाइ छ। शिक्षालाई कसरी गुणस्तरीय बनाउने र सबैको पहुँचमा ल्याउने भन्नेमा सरकार नै विरोधाभासमा रहेको उनको आरोप छ।

“ठोस रूपमा शिक्षा सर्वसुलभ बनाएर सबैको पहुँच हुनसक्ने वातावरण सिर्जना गर्न नेपालका सम्पूर्ण राजनीतिक दल मात्रै होइन शासन सम्हाल्ने सबै खालका व्यक्तिले गम्भीर भएर सोच्नुपर्छ,” उनी भन्छन्, “ठूलो लगानी भएको छ। यो लगानी खेर जान दिनुहुन्न। नेपाल जस्तो गरिब मुलुकले शिक्षामा गरेको लगानीलाई प्रतिफलयुक्त बनाउन सबै विद्यार्थीलाई सीपयुक्त बनाउन पनि कहीँ न कहीँ हस्तक्षेप गर्नु जरुरी छ।”

अनुसन्धाता लोकरञ्जन पराजुलीका अनुसार काठमाडौँले शिक्षाको लामो इतिहास सँगालेको हुनाले काठमाडौँ अब्बल दरिएको बताए। “शिक्षा र स्वास्थ्य बढी केन्द्रिकृत पनि भयो। काठमाडौँसँग लामो इतिहास छ। नेपालको पहिलो शिक्षाको केन्द्र नै काठमाडौँ भयो,” उनले भने, “सबै स्कुल कलेज विश्वविद्यालय पनि काठमाडौँबाट शुरू भयो।”

शिक्षा र स्वास्थ्यका लागि पोखरालाई काठमाडौँसँग तुलना गर्नेभन्दा पनि पोखरामा किन प्रगति भएन भनेर खोज्नुपर्ने उनको भनाइ छ। “अहिलेको भन्दा राम्रो गर्न सक्नुपर्ने हो भन्न सकिन्छ। तर काठमाडौँ र पोखराको तुलनामा गर्नु व्यर्थ हुन्छ। राजा महाराजा सबै त्यहीँ बस्थे। केन्द्रिकृत प्रणालीमा त्यसको फाइदा काठमाडौँलाई भयो,” उनले भने।

जीवनशैलीमा अब्बल पोखरा
प्राडा विश्वकल्याण पराजुली पोखराको शहरीकरण नेपालका शहरमध्ये सबैभन्दा द्रुत गतिमा अघि बढिरहेको बताउँछन्। जनसंख्या वृद्धि र संस्थागत विकास पोखरामा बढ्दै गएको उनको भनाइ छ। “पोखरा सम्भावना भएको शहर हो। काठमाडौँ भनेको सम्भावना धेरै कम भइसकेको शहर हो,” उनले भने।

पराजुलीका अनुसार ६० वर्षको अन्तरालमा पोखराको जनसंख्या सात हजारबाट सात लाख पुगेको उनी बताउँछन्। “यो खालको परिवर्तन काठमाडौँले महसुस गर्नै पाएन,” उनले भने।

पोखराको वातावरण पनि बसोबासका लागि राम्रो रहेको उनी बताउँछन्। “पोखरा सफा शहर हो। अहिलेसम्म पोखरामा दुर्गन्ध भयो भन्ने समाचार आउने अवस्था छैन। यसकारण पनि काठमाडौँभन्दा वातावरणका हिसाबले पोखरा राम्रो छ,” उनले भने।

सडकमार्फत अन्तरदेशीय सम्पर्क काठमाडौँको भन्दा पोखराका लागि सहज भएको उनी बताउँछन्। “काठमाडौँका लागि रसुवागढीभन्दा तातोपानी नाका केही सहज हुन्छ। मुस्ताङको कोरोला नाका खुलिसकेपछि सबैभन्दा सहज कनेक्टिभिटी भएको शहर नै पोखरा हुँदैछ।”

पोखराको नयाँ विमानस्थलले सम्भावना थप गरेको उनको भनाइ छ। काठमाडौँ सांस्कृतिक र पोखरा पर्यटकीय शहरका रूपमा चिनिने उनले बताए। पर्यटकीय शहर भएकै कारण पोखराको आर्थिक स्रोत र गतिविधि मजबुत रहेको उनी बताउँछन्। 

पोखरा उत्पादनसँग पनि जोडिएको शहर भएको उनले बताए। पोखरामा सेती नदीले सबैभन्दा बढी रोजगारी दिएको उनको दाबी छ। “मलाई लाग्छ एक लाखभन्दा बढी श्रमिक सेतीमा आश्रित छन्। ज्याला मजदुरी गर्न आउने पनि धेरै छन्। औद्योगिक शहर नभए पनि यहाँको कतिपय उत्पादन बाहिर जान्छ,” उनी भन्छन्, “यो शहर आर्थिक रूपमा सबल छ।” 

गण्डकीको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. नारायण श्रेष्ठ पोखरालाई हरेक दृष्टिले सुविधायुक्त बनाउन प्रदेश सरकार लागिरहेको बताउँछन्। प्रदेश सरकारले महिला र १६ वर्षमुनिका बालबालिकाको उपचारका लागि ५० हजार रुपैयाँसम्म अनुदान दिने गरेको उनले बताए। भरतपुर क्यान्सर अस्पतालमा संघीय सरकारले दिने १ लाख रुपैयँ खर्च भइसकेपछि नपुगे प्रदेश सरकारले ५० हजार थपिदिने पनि उनले जानकारी दिए।

“गण्डकी अस्पतालमा मुटु रोगका लागि केही सहयोग गर्न भनेर ५० लाख रुपैयाँको क्याथल्याबका सामग्री खरिद गरेर हस्तान्तरण गरेका छौँ। मुटुका धेरै रोगको यही उपचार हुन्छ। यो वर्ष ट्रान्सप्लान्ट पनि शुरू भएको छ,” उनले भने।