नागरिकका समस्या संसदीय गतिविधिबाटै समाधान गर्नुपर्छ : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले नागरिकले सांसदका गतिविधि, अभिव्यक्ति र प्रयत्नलाई निजकबाट हेरिरहेकाे बताएका छन्।

काठमाडौँ– सभामुख देवराज घिमिरेले नेपालको संसदीय इतिहासमै शिक्षा दिने किसिमको भूमिका खेल्न सांसदहरूलाई आग्रह गरेका छन्। 

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभा सदस्यको दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन सभामुख घिमिरेले संसदीय गतिविधिबाटै नागरिकका समस्या समाधान गर्नुपर्ने बताएका हुन्। 

“नागरिकका समस्यालाई समाधान गर्न संसद्‌मा आफ्नो भूमिकालाई बलियो बनाउनुपर्छ,” सभामुख घिमिरेले भने। नागरिकले सांसदका गतिविधि, अभिव्यक्ति र प्रयत्नलाई निजकबाट हेरिरहेकाे उनको भनाइ थियो। 

"हामीप्रति देशले ठूलो अपेक्षा राखेको छ। यसका आफ्नै खालका प्रक्रिया, परम्परा र पद्धति छन्, यसलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्नुपर्नेछ," सभामुख घिमिरेले भने, "यी सबै काम गर्दा कत्तिको जनउत्तरदायी भएर काम गरेका छौँ? विषयमा आधारित भएर गर्न सकेका छौँ कि छैनौँ? हामीलाई निर्वाचित गर्ने नागरिकले संसद्का गतिविधि, अभिव्यक्ति र प्रयत्नबाट काम खोजिरहनुभएको छ।"