राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ।

काठमाडौँ– नेपाली कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ।

कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बिहीबार बसेको बैठकले राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनका विषयमा अन्य राजनीतिक दलसँग छलफल गर्नेसमेत निर्णय गरेको छ।

विपक्षी गठबन्धनमा रहेको एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा तथा सत्ता गठबन्धनमा आबद्ध अन्य दलसँग पनि छलफल गर्ने निर्णय लेखकले बताए। पार्टीले राष्ट्रपति निर्वाचनका लागिसमेत आन्तरिक तयारी गरिरहेको उनको भनाइ छ।

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुँदै छ। तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ फागुन २० मा सकिएको थियो।