राष्ट्रियसभा उपनिर्वाचनमा दुई रोल्पालीको प्रतिस्पर्धा

लुम्बिनी प्रदेशबाट निर्वाचित हुने राष्ट्रियसभा सदस्यका लागि रोल्पाली नेताहरू कुमार दशौदी र माधवप्रसाद आचार्यबीच प्रतिस्पर्धा हुने भएको छ।

माधवप्रसाद आचार्य र कुमार दशौदी

दाङ– आउँदो माघ २५ गते हुने राष्ट्रियसभाका एक सदस्यको लागि हुने उपनिर्वाचनमा दुई जना रोल्पाली उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। 

राष्ट्रियसभामा लुम्बिनी प्रदेशबाट निर्वाचित हुने एक सदस्यका लागि उपनिर्वाचन हुँदैछ। सो निर्वाचनमा नेपाली कांग्रेसले माधवप्रसाद आचार्य र नेकपा एमालेले कुमार दशौदीलाई उम्मेदवार बनाएको छ। उनीहरु दुबैले निर्धारित मिति, माघ ११ गते मनोनयन–पत्र दर्ता गरिसकेका छन्। 

आचार्य र दशौदी दुबै रोल्पाका हुन्। आचार्य नेपाली कांग्रेस रोल्पाका पूर्वसभापति हुन्। लामो समय जिल्ला पार्टी सभापति रहेका उनी कांग्रेसभित्र त्यागी नेताका रुपमा चिनिन्छन्। रोल्पा नगरपालिकाका बासिन्दाले अहिलेसम्म लाभको पद लिएका छैनन्।  विभिन्न सामाजिक संस्थामासमेत आबद्ध रहेका उनी नेपाल बार एशोसियसन रोल्पाका पूर्वअध्यक्षसमेत हुन्।

आचार्यलाई कांग्रेस नेतृत्वमा रहेको विपक्षी गठबन्धनले समर्थन गरेको छ।

दशौदी एमाले केन्द्रीय सदस्य हुन्। उनलाई एमाले नेतृत्वमा रहेको वर्तमान सत्ता गठबन्धनका दलहरुको समर्थन छ। एमाले रोल्पाका पूर्वसचिव रहिसकेका दशौदीले लामो समय शिक्षण पेशा गरेका थिए।

रुन्टीगढी गाउँपालिकाका स्थायी वासिन्दा दशौदी एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन्।

संघमा सत्ता गठबन्धनलाई सघाएको नागरिक उन्मुक्ति पार्टीले पनि लुम्बिनीबाट निर्वाचित हुने राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दिएको छ। नागरिक उन्मुक्तिबाट बर्दियाका राजेन्द्रवीर राय उम्मेदवार बनेका छन्।