हिउँ नपर्दा हिमताल र पानीको मुहान सक्दै जाने तथा वन सुख्खा हुने भएकाले हिमाली वनमा डढेलोका घटना बढेको स्थानीयको भनाइ छ।
फुङलिङ– विगतमा मंसिर पहिलो सातादेखिनै सेताम्मे हुने ताप्लेजुङका हिमाली क्षेत्रमा यसवर्ष हिउँ परेको छैन।
फक्ताङलुङ गाउँपालिका–६ घुन्सा, ग्याब्ला, ७ नं वडाको ओलाङचुङगोला, याङमा कतै पनि हिउँ नपरेको स्थानीयले बताएका छन्। यी सबै तीन हजार मिटरभन्दा माथि उचाइमा रहेका गाउँ हुन्। हिउँदमा पनि हिउँ नपर्दा जनजीवनमा प्रतिकुल असर परेको घुन्साका पेमा शेर्पाले बताए।
चिसो छल्न काठमाडौँ पुगेका उनले भने, “बेलामा हिउँ परेको भए चिसो कम हुन्थ्यो। पानीका मुहान सुक्दैनथे। घाँस पलाउँथ्यो। अब खानेपानीकै समस्या हुन्छ।” घुन्सा गाउँ कञ्चनजंघा हिमाल आधार शिविरको प्रवेशद्वार हो। समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा रहेको याङमा पनि हिउँ नपरेको ताम्लिङ शेर्पाले बताए। हिमपात नहुँदा उनी निराश छन्।
“हिउँ पग्लेर हिमाल सुख्खा हुन थाले। हिमाल सुख्खा भयो भने पानीको मुहानहरू सुक्छन्। चौँरी याकहरूले पानी खान पाउँदैनन्। जमिन सुक्खा हुँदै गएपछि घाँस उम्रिँदैन। घाँस नभए पनि चौंरी याकहरू बचाउन समस्या हुन्छ।” उच्च हिमाली स्थान भएकाले यहाँ अन्न उत्पादन हुँदैन। त्यसैले चौँरी याक गोठ नै मुख्य आम्दानीको स्रोत हो। हिउँ नपरेपछि हिमाल नजिकका तल्लो क्षेत्रका स्थानीय पनि समस्यामा छन्।
“हिमालमा भएको हिउँसमेत पग्लेर कालापहाड बन्दै छन्। खेतबारीहरू सुख्खा हुँदै छ”, सिरिजंघा गाउँपालिका–६ मामांखेका लोकेन्द्र लिम्बूले भने, “बारीमा लगाएको जौँ र गहुँ खेती बाला लाग्न नपाई सुक्दै गएको छ।” लिम्बूको दैनिकी अलैँची बगानमा सिँचाइ गर्नमा व्यस्त हुने गरेको छ। पानी नपर्ने र हुरी बतासमात्र चल्ने भएकाले खडेरीबाट अलैँची बगान जोगाउन लागिपरेको उनले सुनाए। रोपेको आलु उम्रन नपाइ सुक्ने पो हो कि भन्ने चिन्ताले सताउन थालेको उनी बताउँछन्।
हिमालमा हिम रेखाभन्दा माथिसम्म हिउँ पग्लँदै गइरहेको कञ्चनजंघा संरक्षण क्षेत्रका कार्यक्रम सहायक जितेन चेम्जोङले बताए। “जलवायु परिर्वनले गर्दा वातावरणमा प्रतिकूलता आएको छ। हिउँ समयमै नपर्नुले प्रत्यक्ष तथा अप्रत्यक्ष वातावरणमा असर पुर्याएको हुन्छ”, उनले भने। कञ्चनजंघा हिमश्रृंखला क्षेत्र दुर्लभ जनवार हिउँ चितुवाको वासस्थान मानिन्छ। हिउँ पग्लँदै गएपछि हिउँ चितुवा संकटमा पर्न सक्ने चिन्ता चेम्जोङको छ।
समयमा पानी नपर्ने, समयमा हिउँ नपर्ने जस्ता समस्या देखापर्न थालेको लामो समयदेखि जैविक विविधता क्षेत्रमा काम गर्दै आएका हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईको भनाइ छ। हिमताल सुक्ने, पानीको मुहान सक्दै जाने, वन जंगल सुख्खा हुने भएकाले हिमाली वनमा डढेलोका घटना बढेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
