निडर पत्रकारिताको प्रण

हामीले शुरू गरेको अभ्यास तथा संकल्प गरेको पत्रकारिताले आमसञ्चारका स्थापित मूल्य र मान्यता अंगीकार गर्दै देश र नागरिकले भोगिरहेका यावत समस्यासँग जुध्ने कोशिश गर्नेछ।

सूचना प्रविधिको विकासले पत्रकारिता र आमसञ्चारका निम्ति ल्याएका अवसर र चुनौती स्वीकार गर्दै आजदेखि हामी उकालो डटकम लिएर आएका छौँ।

उकालो डटकम सार्वजनिक हितमा समर्पित सञ्चारमाध्यम हो। सार्वजनिक हितको संरक्षण र प्रबर्द्धन गर्दै सुसूचित, न्यायपूर्ण र शान्तिपूर्ण समाज निर्माण गर्ने हाम्रो बृहत्तर उद्देश्य हो। हामी सरकार–राज्य, निजी क्षेत्र, विकास साझेदारदेखि नागरिक समाजसम्मका संस्था पारदर्शी, उत्तरदायी र लोकतान्त्रिक हुनुपर्ने मान्यता राख्छौं। यसका थुप्रै कारण छन्। सबैभन्दा महत्वपूर्ण कारण यी संस्थाहरूले नेपाल राष्ट्र र नेपाली नागरिक (विशेषतः विपन्न, महिला, सीमान्तकृत वर्ग, जाति, समुदाय)को अधिकार र हितको रक्षा एवं प्रवर्द्धनका लागि प्रभावकारी काम गर्नुपर्छ।

हामी लोकतन्त्र, यसका आधारभूत मूल्य र मान्यतामा प्रतिबद्ध छौँ। लोकतन्त्रमा मात्र नागरिक अधिकार तथा स्वतन्त्र सञ्चारमाध्यम सबल हुन्छ। विधिको शासन लोकतन्त्रको आधारभूत सर्त हो। योबिना लोकतन्त्र स्वयंमा सबल बन्न सक्दैन। आवधिक निर्वाचनजस्ता लोकतन्त्रका प्रबन्धले विधिको शासन र नागरिक अधिकारको संरक्षण र प्रबर्द्धन गर्न सक्नुपर्छ। त्योभन्दा पनि महत्वपूर्ण, लोकतन्त्रको प्रतिफल सबै तह र तप्काका नागरिकसम्म समान रुपमा पुग्नुपर्छ। हामी लोकतन्त्रको लाभ भुईंमान्छेसम्म पुर्‍याउने सेतु बन्न चाहन्छौं। यी बृहत्तर लक्ष्य हासिल गर्न हामीले चार प्रमुख उद्देश्य बनाएका छौं।

पहिलो उद्देश्य हो, सही सूचना सम्प्रेषण गर्ने। प्रविधिको द्रूत विकासले सूचनामा हरेकको पहुँचसँगै गलत र भ्रमपूर्ण सूचना प्रवाह हुन थालेको छ। यसबाट ‘सूचनाको महामारी’को जोखिम बढेको छ। अहिले हरेक व्यक्ति राजनीति, समाज, अर्थतन्त्र र मुलुकले समातेको बाटोबारे धारणा बनाउन सक्षम छन्। त्यसका लागि उनीहरूलाई सही, सान्दर्भिक, विश्वासिलो र समयानुकूल सूचना आवश्यक छ। यस्ता सूचना र तिनमा आधारित रहेर गरिने विश्लेषणले समाजमा आवश्यक सुधारका कार्यलाई मात्र दिशानिर्देश गर्दैन, सत्ता र नागरिकबीचको सूचनाको खाडल पनि पुर्छ।

हो, सत्ता र नागरिकबीचमा सूचनाको ठूलो खाडल छ। असन्तुलन छ। आफूलाई नागरिकको सेवक नभई शासक ठान्ने सत्ताको आवाज त तलसम्म पुग्छ, तर नागरिकको आवाज विरलै मात्र सत्तासम्म पुगिरहेको छ। यसको अर्थ मुलुक र नागरिकका लागि भनेर भइरहेका नीति निर्माणमा नागरिकको सहभागिता नभए जस्तै छ। हामी मुलुक र नागरिकका निम्ति हुने नीति निर्माणमा यथेस्ट जनआवाज प्रतिविम्वित गर्न प्रयास गर्नेछौँ।

दोश्रो, जिम्मेवार सञ्चारमाध्यमको प्रमुख उद्देश्य पारदर्शी र जवाफदेही शासन मात्र होइन, सुशासन प्रबर्द्धनका निम्ति पहरेदारी गर्नु पनि हो। हामी नागरिकप्रति जवाफदेही बन्नुपर्ने संस्था र तिनका पदाधिकारी, औद्योगिक तथा व्यापारिक घराना, देश र समाजका लागि निर्माण हुने नीति तथा तिनको अभ्यासमा प्रभाव राख्ने प्रत्येक व्यक्तिलाई नागरिकको बृहत्तर हित निम्ति निगरानी गर्नेछौं। भ्रष्टाचार, कुशासन, तथा व्यापारिक दुष्कार्यहरू, राज्यस्रोतदेखि प्राकृतिक स्रोतसम्मको दोहन, अनैतिक व्यापारिक अभ्यास तथा नीतिगत भ्रष्टाचारको निगरानी गर्नेछौं र त्यसलाई उजागर गर्नेछौं।

तेस्रो, हामी लोकतान्त्रिक बहसका निम्ति सबैका लागि समान पहुँचयुक्त मञ्च बन्ने प्रयत्न गर्नेछौं। नेपालले लोकतान्त्रिक अभ्यासको लामो कालखण्ड पार गरे पनि लोकतन्त्रको प्रतिफल सबै नागरिकले समान रूपमा अनुभूति गर्न पाएका छैनन्। त्यसकारण लोकतन्त्र र यसको अभ्यासमा रिक्तता कहाँ छ र त्यसलाई कसरी सुधार गर्ने भन्नेबारे वैकल्पिक विचारहरूमाथि बृहत् मन्थन आवश्यक छ। विचार निर्माण र प्रवाहमा केन्द्रीकृत शक्ति र प्रभावशाली व्यक्तिहरू मात्र हाबी भइरहेको तीतो यथार्थलाई हेक्का राख्दै हामी यस्ता विचार र विचारधाराहरूबारे समेत आलोचनात्मक चेतको विकास गर्ने सेतु बन्न चाहन्छौं।

विचार निर्माण र प्रवाहमा देश र समाजमा सुधार चाहने व्यक्ति र समूहका आवाज अझै पनि दबिएका वा दबाइएका छन्। हामी देशमा सकारात्मक सुधार र परिवर्तनका पक्षधर अनि वाहकहरूलाई सहयोग गर्ने र उनीहरूलाई सबल बनाउने प्रयास गर्नेछौं।

चौथो, हामी बहुलतायुक्त नेपाली समाजमा रहेका विविधता झल्किने मञ्च बन्न चाहन्छौं। यसका लागि हामी विशेषतः सीमान्तकृत समूह तथा समुदायका आवाज प्रतिध्वनित गर्न चाहन्छौं। हामी देशमा विद्यमान विविध सामाजिक मूल्य र मान्यता, चलन तथा परम्पराबारे सामूहिकताको भावना र समझदारी पनि बढाउन चाहन्छौं।

नीति निर्माण र निर्णय प्रक्रियामा अधिकतम् नागरिक सहभागिता गराउने, सम्भव भएसम्म समावेशी अभ्यास स्थापित गर्नेमा हाम्रो जोड रहनेछ। त्यसका निम्ति हामी बहिष्करणमा पारिएका र सीमान्तकृत समुदायको आवाज प्रतिध्वनित गर्नेछौँ। पत्रकारिताका दौरान गरिने अध्ययन र अनुसन्धानमा पनि सबै समूहहरूलाई सहभागी गराउने छौँ। यस्तो अभ्यास गर्दैगर्दा हामी नेपाली समाजमा व्याप्त राजनीतिक पूर्वाग्रह, निहित स्वार्थ र विद्यमान असमानताहरूलाई पनि उजागर गर्नेछौं।

अहिलेको पत्रकारिता स्वभावैले गतिशील र परिवर्तनशील छ। नेपालमा पनि यो निरन्तर र क्रमिक विकासकै चरणमा छ। आमसञ्चार र पत्रकारिता स्वयंमा यस्तो माध्यम हो, जसले एकातिर राज्यशक्ति र समाज, अर्कोतर्फ नागरिकबीच पुलको काम गर्छ। जिम्मेवार पत्रकारिताको अभ्यासले मानवीय मूल्य, स्वतन्त्रता, समता र न्यायलाई प्रवर्द्धन गर्छ। तर, यसको दुरूपयोगले यिनै मूल्य र मान्यतामा संकुचन निम्त्याउन सक्छ। हामी यसमा सदैब सजग रहनेछौं।

हामीले शुरू गरेको अभ्यास तथा संकल्प गरेको पत्रकारिताले आमसञ्चारका स्थापित मूल्य र मान्यता अंगीकार गर्दै देश र नागरिकले भोगिरहेका यावत समस्यासँग जुध्ने कोशिश गर्नेछ। जिम्मेवार र निडर पत्रकारितामा खरो उत्रने हाम्रो प्रण हो। त्यसका लागि हामीलाई पाठक, दर्शक, स्रोता र सुभेच्छुकहरुको साथ, सहयोग र निरन्तर खबरदारी आवश्यक छ।