पश्चिम नेपालमा दुई दिन वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बिहीबार र शुक्रबार सुदूरपश्चिम  तथा कर्णाली प्रदेशमा मौसम बदली भएर सामान्य वर्षा तथा हिमपातको सम्भावना छ।

तस्वीर : रासस

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बिहीबार सुदूरपश्चिम  र कर्णाली प्रदेशमा मौसम बदली भएको छ। ती क्षेत्रमा बिहीबार र शुक्रबार हल्का वर्षा तथा हिमपातको सम्भावना भएको पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार दिउँसो सुदूरपश्चिम र कर्णालीका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। सुदूरपश्चिम, कर्णाली  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा पनि हल्का हिमपातको सम्भावना रहेको विभागको पूर्वानुमान छ।

बिहीबार राति सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको र यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा भने हिमपात हुनसक्ने पनि जनाइएको छ।

फाइल तस्वीर

तराई क्षेत्रमा भने लामो समयदेखि लागिरहेको हुस्सु र कुहिरो आज पनि हटेको छैन। जसका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ।

शुक्रबार पनि पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना भएको महाशाखाले जनाएको छ। शुक्रबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना छ।