विगतका कमजोरीबाट पाठ सिकेर सभामुखको भूमिका निर्वाह गर्छु : उम्मेदवार घिमिरे

एमालेबाट प्रतिनिधिसभा सभामुखका उम्मेदवार देवराज घिमिरेले आफ्नो जित सुनिश्चित रहेको बताउँदै विगतका कमजोरीबाट पाठ सिक्दै अघि बढ्ने बताएका छन्।

काठमाडौँ- नेकपा एमालेका सांसद एवं सभामुखका उम्मेदवार देवराज घिमिरेले सभामुखमा आफ्नो जित निश्चित रहेको बताएका छन्। 

बुधवार संसद् सचिवालय नयाँ बानेश्वरमा प्रतिनिधि सभाका लागि सभामुखको उम्मेदवारी दर्ता गराइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। 

उनले विगतमा भएका कमजोरीबाट सिकेर आगामी दिनमा सभामुखको भूमिका निभाउने बताए। उनले आफू निर्वाचित भइसकेपछि सांसदहरूलाई सहमतिका साथ अघि बढाउने बताए। उनले सभामुख कुनै एक दलबाट नभई सिंगो प्रतिनिधिसभाबाट चुनिएर जाने भएकाले सभामुखले खेल्ने भूमिकामा कमी नदिने गरी कार्य सम्पादन गर्ने बताए। 

सत्तारुढ दलहरूको साझा उम्मेदवार रहेका उनलाई एमाले उपाध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले सभामुख पदका लागि प्रस्ताव गरेका हुन् भने नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन ले समर्थन गरेका छन्। 

प्रतिनिधिसभामा सभामुखको निर्वाचन माग ५ गते (भोलि) हुँदैछ। एमाले स्थायी कमिटी सदस्य घिमिरे पहिलो पटक झापा क्षेत्र नम्बर २ का प्रतिनिधि सभामा निर्वाचित भएका थिए। हाल एमाले प्रदेश १ को पार्टी इन्चार्जको भूमिकामा रहेका उनी २०५६ सालमा राष्ट्रियसभाको सांसद बनेका थिए।