क्यालिफोर्नियामा गोली प्रहार, आमा र बच्चासहित ६ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको गोलीबारीमा १७ वर्षीया आमा र उनको ६ महिनाको बच्चासहित ६ जना व्यक्तिको मृत्यु भएको छ।

तस्वीर : एपी

अमेरिकाको क्यालिफोर्निया राज्यको तुलारी काउन्टीस्थित एक घरमा सोमबार बिहान भएको गोलीबारीमा ६ जनाको मृत्यु भएको छ।

घटनामा १७ वर्षीया आमा र उनको ६ महिनाको बच्चासहित ६ जना व्यक्तिको मृत्यु भएको हो। सुरक्षाकर्मीले दुई सन्दिग्धको खोजी गरिरहेको सुरक्षा अधिकारीहरूले बताएका छन्।

तुलारी काउन्टीका सुरक्षा अधिकारीले भिसालियाको पूर्वमा रहेको असंगठित गोशेन आवासीय क्षेत्रमा साढे तीन बजे गोली चलेको रिपोर्ट आएको बताएका छन्।

"गोली प्रहारको तरिका हेर्दा वास्तवमा त्यो क्षेत्रमा सक्रिय बन्दुकधारी रहेको जस्तो देखिन्छ", तुलारी काउन्टीका प्रहरी अधिकारी शेरिफ माइक बोउड्रेक्सले पत्रकारलाई भने।

सुरक्षाकर्मीले दुईवटा शव सडकमा र तेस्रो व्यक्तिको शव बीभत्स अवस्थामा ढोकाको छेउमा भेटाएको उनले बताए। अन्य तीन जना पीडित घरभित्र भेटिएका थिए, जसमध्ये एक पुरुषको उपचारका क्रममा अस्पतालमा निधन भएको थियो।

शेरिफले अनुसन्धान जारी रहेको र दुई सन्दिग्धको खोजी भइरहेको बताए। उनीहरूको आपराधिक समूहसँग संलग्नता रहेको उनको विश्वास छ। प्रहरी कार्यालयले त्यो स्थानमा लागुऔषध कारोबार गरेको आशंकामा 'सर्च वारेन्ट' जारी गरेको शेरिफले बताए।

"यो सामान्य हिंसा मात्र नभई परिवारप्रति लक्षित घटना हो भन्ने हाम्रो विश्वास छ", उनले भने, "किशोरी आमा र उनको छोरीको टाउकोमा गोली हानिएको थियो।"