शोकमा पनि सत्ताकै सुर्ता : प्रधानमन्त्रीको ‘बालकोट परिक्रमा’, पाँच घण्टा ‘लन्च मिटिङ’

यती एयरलाइन्सको विमान दुर्घटनापछि आफैँले शोक घोषणा गरेको दिन, सोमबार प्रधानमन्त्री दाहाल बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग ‘लन्च मिटिङ’ गरे। सत्ताको सकस मिलाउन पाँच घण्टा त्यहीँ बिताए।

तस्वीर : केपी शर्मा ओलीको सचिवालय।

काठमाडौँ– आइतबार बिहान पोखरामा चालकदलका चार सदस्यसहित ७२ जना सवार यती एयरलाइन्सको विमान दुर्घटनामा परेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले सोमबार देशभर ‘शोक–बिदा’ दिने निर्णय गर्‍यो। दुर्घटनामा परेका दुई जनाको अवस्था अझै पहिचान भएको छैन। शव भेटिएका सबैको पोस्टमार्टम र सनाखत नभएकाले परिवारजनले आफ्ना प्रियजनको शवसमेत पाएका छैनन्। मृतकका परिवार–आफन्तजनले तत्काल शवको पोस्टमार्टम–सनाखत गरेर शव उपलब्ध गराइदिन माग गरिरहेका छन्।

अहिले पनि हराइरहेका दुई जनाको खोजी जारी छ। सोमबार साँझ कास्कीका प्रहरी प्रमुख, एसपी अजय केसीले भने, “आज राति कठिनाइ हुन्छ, अब भोलि फेरि खोजी कार्य जारी राख्छौँ।”

यस्तो बेला हराइरहेकाहरूको खोजी र भेटिइसकेका शव आफन्तको जिम्मा लगाउन राज्य–संयन्त्र पूर्णतः केन्द्रित हुनुपर्ने हो। सरकार, राज्य–संयन्त्रले त्यसमा प्रभावकारी काम गर्न नसकेको आरोप लागिरहेका बेला सरकार प्रमुख त्यसमै केन्द्रित बन्ने अपेक्षा हुन्छ। सोमबार पोखरामा कस्तो दयनीय अवस्था देखियो भने दुर्घटनामा ज्यान गुमाएका सबैको शव पोखरामा पोस्टमार्टम गर्न सम्भव नदेखिएपछि काठमाडौँ ल्याउने तयारी गरिएको छ।

दुर्घटनालगत्तै पोखरा उड्ने तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्धार प्रभावित हुने ठानेर त्यसबाट पछि हटेका थिए। धेरैजसो उद्धारको काम सकिइसकेकाले सोमबार उनी पोखरा पुगेर दुर्घटनास्थल अवलोकन गर्न सक्थे। एकै ठाउँमा ज्यान गुमाएका ७० जनाका परिवारजनलाई सान्त्वना–ढाडस दिन सक्थे। त्यसले ‘सरकार भएको’ अनुभूति पनि दिने थियो। 

सोमबार दाहालकै क्याबिनेटले घोषणा गरेको ‘शोकको दिन’ थियो। तर, दाहालका गतिविधि भने शोकको दिनका जस्ता भएनन्। सोमबार बिहानै उनी बालकोट गए, सत्तागठबन्धनको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा। गएनन् मात्र, झण्डै पाँच घण्टा त्यहीँ बिताए। 

अझ अनौठो त हृदयविदारक दुर्घटनाले देश स्तब्ध बनेका बेला, आफैँले शोक मनाउन सार्वजनिक बिदा दिएको दिन प्रधानमन्त्रीले बालकोटको बार्दलीमा एमाले अध्यक्ष ओलीसँग ‘लन्च मिटिङ’ गरे। 

पछिल्ला केही दिनयता दाहाल र ओलीबीचको सम्बन्धमा धेरथोर चिसोपन छिरेको छ। एमालेसँग सत्तागठबन्धन गरेर कांग्रेसलाई पनि आफूनजिक ‘इंगेज’ गराइरहने चलाखी गरेपछि ओली आफूसँग सशंकित बनेको बुझाइले हुनसक्छ, दाहाल त्यसयता ओलीलाई ‘फकाउने’ प्रयत्न गरिरहेका छन्। गत पुस २७ गते गोरखा पुगेका प्रधानमन्त्री दाहाल त्यहाँबाट फर्कँदा सिधै बालकोट हानिएका थिए। सोमबार पनि उनी शोकमा बेपरवाहजस्तै बनेर बालकोट पुगे। 

तस्वीर : केपी शर्मा ओलीको सचिवालय

गठबन्धनभित्र देखा परेको गडबडीले पनि मन्त्रिपरिषद् विस्तारमा विलम्ब भइरहेको छ। सोमबार दाहालको बालकोट दौडाहा त्यसकै निम्ति थियो। बालकोटमा पाँच घण्टा बिताएर फर्कन लाग्दा दाहालले ‘मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने’ बताउनुले पनि उनी शोकको दिनसमेत ‘सत्ताकै सौदा’ टुंग्याउन बालकोट पुगेको प्रष्ट हुन्छ। नेकपा माओवादी केन्द्रका एक पदाधिकारीले भने, “कांग्रेसले पनि विश्वासको मत दिएपछि एमालेमा आशंका पैदा भएको छ। प्रधानमन्त्रीले एमाले अध्यक्षको आशंका अन्त्य गर्नका लागि नै भेट गरिरहनुभएको छ।” 

सरकारको गाँठो
बालकोट छलफलपछि सोमबार साँझ बालुवाटारमा सत्तारूढ दलहरूको संयन्त्रको बैठक बस्यो। बैठकले सत्तासाझेदार दलहरूबीच मन्त्रालय बाँडफाँटमा मोटामोटी सहमति जुटाएको बताए पनि त्यसको प्रष्ट खाका सार्वजनिक भइसकेको छैन।

गत पुस ११ मा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका प्रधानमन्त्री दाहालले सोही दिन आफूसहितको ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। सोमबार त्यसको २२ दिन पुगेको छ। तर, मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। नियुक्त भएकामध्ये पनि तीन जना मन्त्रीबाहेक अरूले जिम्मेवारी नै पाएका छैनन्। 

यसबीच सरकारलाई पूर्णता दिन र शक्ति बाँडफाँटका अरू विषय टुंग्याउन भन्दै दाहाल र ओलीले एक्लाएक्लै सात पटक भेटिसकेका छन्। सामूहिक भेट र छलफल जोड्दा त्यो शृंखला अझ लामो छ। 

दुई पटक त ओलीलाई भेट्न प्रधानमन्त्री दाहाल बालकोट नै पुगेका छन्। ओली भने दाहाललाई भेट्न चारपटक बालुवाटार पुगे। पुस १३ गते दाहाललाई भेट्न ओली खुमलटारस्थित दाहालनिवासमै पुगेका थिए। 

माओवादी केन्द्रका नेता हरिबोल गजुरेल भने को कसलाई भेट्न कहाँ गयो भन्ने कुराभन्दा आवश्यकता के हो भन्ने महत्त्वपूर्ण हुने बताउँछन्। “यो औपचारिक भेटघाट होइन, अनौपचारिक होला। त्यसैले कसले कहाँ गएर भेट गर्‍यो भन्ने कुरालाई अन्यथा नलिऔँ”, उनले भने, “सत्ता समीकरणलाई मजबुत बनाउन र सरकार विस्तारलाई पूर्णता दिन भएका छलफलले सकारात्मक रूप लेलान् नि।” 

नेपाली कांग्रेसले पुस २६ गते प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएपछि एमाले र माओवादीबीचमा केही अविश्वास पैदा भएको प्रस्टै देखिन्छ। कांग्रेसले विश्वासको मत दिएपछि राष्ट्रपति र सभामुखको निर्वाचनबारे संसद्मा रहेका दलहरूसँग छलफल गर्ने बताएपछि एमाले नेताहरूमा आशंका बढेको छ। तर, माओवादी नेताहरू भने अहिले नै अविश्वास गर्नुपर्ने अवस्था नरहेको दाबी गर्छन्। 

“अविश्वास गरिहाल्नु पर्ने कुनै कारण छैन। सत्य के हो भन्ने कुरा सभामुखको निर्वाचनमा देखिहालिन्छ”, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे भन्छन्, “शीर्ष तहमा छलफल भएरै प्रक्रिया अघि बढ्छ।” 

एमालेका उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पनि सत्ता साझेदार दल सबै एकै ठाउँमा रहेको दाबी गरे।

कांग्रेसले विश्वासको मत दिएर ‘सहमतिको ढोका खुलै राखेको’ संकेत गरेपछि प्रधानमन्त्री दाहाल कांग्रेसप्रति केही लचिलो देखिएका छन्। उनी तत्काल कांग्रेसलाई चिढ्याउन चाहिरहेका छैनन्। त्यस्तै एमालेलाई टाढा जान दिन पनि चाहिरहेका छैनन्। “एमालेसँग सत्तासाझेदार भएकाले पनि चिढ्याउन चाहिरहनु भएको छैन, कांग्रेसले विश्वासको मत दिएकाले पनि सम्बन्ध सुधार गरेरै जान चाहिरहनुभएको छ”, माओवादीका एक नेता भन्छन्, “अहिले चाहिँ एमालेले सत्ता समीकरणमा केही अप्ठ्यारो पार्ला कि भन्ने चिन्ताले पनि प्रधानमन्त्री आफैँ बालकोट गएर आश्वस्त पारिरहनुभएको छ।” 

विश्लेषक नारायण ढकाल प्रधानमन्त्री दाहाल सत्ता साझेदार एमाले र आफूलाई विश्वासको मत दिने कांग्रेसप्रति पनि लचिलो बन्ने रणनीतिमा रहेकै कारण सबैलाई मनाउन धाइरहेको टिप्पणी गर्छन्। “हामीकहाँ राजनीतिमा के गर्न हुन्छ, के गर्न हुन्न भन्ने सिमाना नै भएन। विचार र सिद्धान्तको साटो स्वार्थमा मात्र केन्द्रित भयो। प्रधानमन्त्री पनि आफू सुरक्षित हुन सबैतिर मिलाउन चाहिरहनुभएको छ”, उनले भने, “कांग्रेसले पनि गुण लगाएको छ, त्यसलाई तिर्नैपर्‍यो। ओलीसँग पनि टसल गरेर हित हुँदैन भन्ने लागेको छ। तर, यसरी घरमा धाउने कुरा प्रधानमन्त्रीको पदीय हैसियतका हिसाबले शोभनीय होइन।” 

पुस १० गते ओलीनिवास बालकोटमै वर्तमान सत्तागठबन्धन जन्मिएको थियो। त्यसबाटै दाहाल प्रधानमन्त्री बनेका थिए। रोचकचाहिँ सत्तागठबन्धनको एक घटक, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने पनि पटक–पटक बालकोट नै धाइरहेका छन्।