जब चिडियाखानाबाट चितुवा गायब भयो!

नोभा नाम गरेको करिब ११ किलोग्राम वजनको चितुवा शुक्रबार एकाएक चिडियाघरबाट हराएको थियो।

अमेरिकाको डालस शहरस्थित चिडियाखानाबाट शुक्रबार चितुवा हराएपछि प्रहरीले अनुसन्धान शुरू गरेको बतायो। तर, केही समयमै चितुवा आफ्नै वासस्थानमा देखा पर्‍यो। यो घटनाले डालस चिडियाखानाका अधिकारी अचम्मित छन्।

नोभा नाम गरेको करिब ११ किलोग्राम वजनको चितुवा शुक्रबार एकाएक चिडियाघरबाट हरायो। चितुवालाई घेरेर राखिएको तारजाली काटिएको थियो। सँगै रहेकी नोभाकी बहिनी भने वासस्थानमै थिइन्।

प्रहरीले नोभालाई कसैले जानाजान गायब पारेको भन्दै अनुसन्धान थालेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको थियो। साथै, खोजी गर्न कर्मचारी र प्रहरी परिचालन गरिएको थियो। 

तर, केही समयपछि सो चितुवा एकाएक आफ्नै वासस्थानमा फेला पर्‍यो। यो कार्य कसैले जानाजान गरेको डालसका वरिष्ठ प्रहरी अधिकृत वारेन मिचेलको भनाइ छ।

चिडियाघरबाट चितुवा हराउनु गम्भीर अवस्था भएको भन्दै चिडियाखाना प्रशासनले ट्विटसमेत गरेको थियो। तर, अहिले कुनै खतरा नरहेको कर्मचारीहरूले बताएका छन्।