एनभीए भलिबल : साबिक विजेता न्यु डायमन्डलाई पराजित गर्दै पुलिसलाई उपाधि

एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।

काठमाडौँ– साबिकको विजेता न्यु डायमन्डलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लबले सातौँ संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ उपाधि जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार सम्पन्न फाइनल खेलमा पुलिसले न्यु डायमन्डलाई ३-२ को सेटमा पराजित गरेको हो।

पहिलो सेट २२-२५ ले गुमाएको पुलिसले दोस्रो सेटमा २५-१७ को जित निकाल्दै पुनरागमन गरेको थियो। तेस्रो सेट २५-२७ ले गुमाएको पुलिसले चौथो सेटमा २५-१९ को जित निकाल्यो।

पाँचौँ तथा निर्णायक सेटमा १५-११ को जित निकाल्दै पुलिसले उपाधि उचाल्यो। उपाधिसँगै पुलिसले चार लाख रुपैयाँ पाएको छ। उपविजेता न्यु डायमन्डले भने दुई लाख रुपैयाँमा चित्त बुझायो।

आइतबार नै सम्पन्न खेलमा विभागीय टोली नेपाल आर्मीलाई हराउँदै अर्को विभागीय टोली एपीएफले महिलातर्फ तेस्रो स्थान हासिल गरेको थियो। एपीएफले २५-१६, २५-२०, २१-२५, २१-२५ र १५-७ जित निकालेको थियो। एपीएफले एक लाख रुपैयाँ प्राप्त गरेको छ।