यतीको विमान दुर्घटना : मृत्यु हुनेको संख्या ६८ पुग्यो

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६८ पुगेको छ।

काठमाडौँ– पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६८ पुगेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। चालक दलका चार सदस्यसहित ७२ जना सवार रहेको यती एयरलाइन्सको विमान आइतबार बिहान दुर्घटनामा परेको थियो।

काठमाडौँबाट बिहान १०ः३२ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ विमान पोखरा टावरसँग सेती खोँच भन्ने स्थानमा सम्पर्कमा आएको र त्यसपछि दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ। विमान करिब ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट २ किलोमिटरको टाढा सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको हो। 

सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ। उद्धार गरिएका शवहरू पोखरास्थित गण्डकी अस्पताल लगिएको छ। दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, विमानस्थलको रेस्क्यु टोलीले उद्धार तथा खोजी कार्य जारी राखेका छन्। विमानमा १५ विदेशी नागरिकसहित ६८ यात्रु सवार थिए।

विमान दुर्घटनापछि बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले छानबिनका लागि पाँच सदस्यीय टोली गठन गरेको छ। त्यस्तै, सरकारले मृतकको शोकमा सोमबार शोक बिदा दिने निर्णय पनि गरेको छ।