हास्यकलाकार एवं अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताएका छन्।
काठमाडौँ- हास्यकलाकार एवं अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताएका छन्। उनी अभिनीत फिल्म ‘महापुरूष’बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले अभिनय र आफ्नो स्वास्थ्यका विषयमा कुराकानी गरेका हुन्।
“मलाई अभिनय गर्न मन लाग्छ। स्वास्थ्यले कहिलेकाहीँ साथ दिँदैन। तर, पनि म आफ्नो शरीरलाई जर्वजस्ती नै काममा व्यस्त बनाउँछु”, अभिनेता श्रेष्ठले भने। महापुरूष नेपाली चलचित्र भाइटीकाको भोलिपल्ट प्रदर्शन हुने तयारीमा छ।
उनी पछिल्लो समय आफ्नो अभिनय र गायनमा सक्रियता घटेको स्वीकार्छन्। यद्यपि, महसञ्चारबाट बनेका भिडियो सामग्रीमा सकेको समय काम गरिरहेका छन्।
“बाहिर काम गर्न केही असहज भने हुन्छ, महसञ्चारमा भने सुविधाअनुसार काम गर्ने गरेको छु । यो फिल्ममा हाम्रै टेलिशृंखलाबाट निर्देशनको शुरूवात गर्नुभएका प्रदीप भट्टराई निर्देशक भएकाले काम गरेको हुँ,” अभिनेता श्रेष्ठले भने।
लेखकसँगै निर्देशकसमेत रहेका भट्टराईले अभिनेता श्रेष्ठको स्वास्थ्यलाई ख्यालमा राख्दै दृश्य तयार गरिएको जानकारी दिए। “काठमाडौँमै छायांकन हुने भएकाले उहाँको सुविधाअनुसार अभिनय गराएको हुँ। मदन दाइ र हरि दाइ मेरा लागि स्कुल हुनुहुन्छ। उहाँहरूलाई ठूलो पर्दामा दोस्रोपटक निर्देशक गर्न पाउँदा खुसी लागेको छ,” निर्देशक भट्टराईले भने।
उनीहरूले यसअघि ‘शत्रु गते’ मा काम गरेका थिए। पत्रकार सम्मेलनमा हास्यकलाकार एवं अभिनेता हरिवंश आचार्यले अभिनेता श्रेष्ठको इच्छाशक्तिको चर्चा गरे। “मदन दाइलाई पर्दामा सँगै पाउँदा छुट्टै ऊर्जा प्राप्त हुन्छ। यसअगाडिका फिल्महरूझैँ यसमा पनि उहाँ जोडिँदा धन्य भएको छु,” अभिनेता आचार्यले भने।
फिल्ममा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइलीलगायतका कलाकारले अभिनय गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
