मुसालाई जवान र वृद्ध बनाउने परीक्षण सफल, के मानिसमा सम्भव होला?

हावार्ड मेडिकल स्कुलका प्रोफेसर तथा एन्टी–एजिङ विज्ञ डेबिड सिनक्लेयरले भने, “मानिसको शरीरमा वयस्क अवस्थाको 'ब्याकअप कपी' हुन्छ। यसलाई पुनः उत्पादनका लागि उत्प्रेरित गर्न सकिन्छ।”

वैज्ञानिकले एन्टी एजिङ (बुढ्यौली कम) सम्बन्धमा अभूतपूर्व सफलता मिलेको दाबी गरेका छन्। ‘सेल’ जर्नलमा प्रकाशित एक अध्ययनमा वैज्ञानिकले ‘बुढ्यौली अवस्था’बारेमा वर्णन गरेका छन्, जसलाई बढाउन र उल्टाउन सकिने उल्लेख छ।

वैज्ञानिकहरूले मुसामा गरिएको परीक्षण सफल भएको दाबी गरेका छन्। वैज्ञानिकहरूले यो परीक्षणपछि बुढ्यौलीलाई बढाउन र घटाउन सकिने प्रक्रियागत तथ्य प्रमाणित भएको बताएका छन्।

अमेरिकाको बोस्टनको एक ल्याबमा गरिएको अध्ययनमा वृद्ध र आँखा नदेख्ने मुसाले आँखाको ज्योति प्राप्त गरेको, मस्तिष्क पुनः युवाको जस्तो र तीक्ष्ण बनेको, मांसपेशी र मिर्गौलाका तन्तुसमेत स्वस्थ बनेको थियो। अर्कोतर्फ वयस्क मुसा समयअगावै वृद्ध भएका थिए भने उनीहरूका शरीरका अधिकांश तन्तु क्षतिग्रस्त भएका थिए।

हावार्ड मेडिकल स्कुलका प्रोफेसर तथा एन्टी–एजिङ विज्ञ डेबिड सिनक्लेयरले भने, “मानिसको शरीरमा वयस्क अवस्थाको 'ब्याकअप कपी' हुन्छ। यसलाई पुनः उत्पादनका लागि उत्प्रेरित गर्न सकिन्छ।”

अध्ययनको परिणामले बुढ्यौली 'जेनेटिक म्युटेसन'को नतिजा हो र 'जेनेटिक म्युटेसन'ले डीएनएलाई प्रभाव पार्दा क्षति पुगेका कोषले शरीरको स्वरूपलाई बिगार्छ भन्ने मान्यतालाई चुनौती दिएको छ।

सिनक्लेयरले सीएनएनलाई भनेका छन्, “यसलाई हामी सूचनाको क्षति मान्छौँ। वास्तविक डीएनएलाई चिन्न सक्ने कोषको क्षमतामा ह्रास आई आफ्नो काम गर्नै बिर्सन्छ। यो पुराना हुँदै गएपछि कम्प्युटरका सफ्टवेयर 'क्र्याक' भएजस्तै हो। मैले यसलाई बुढ्यौलीको सूचना सिद्धान्तसमेत भन्ने गरेको छु।”

उनका अनुसार परीक्षणले के देखाएको छ भने मानिसलाई जवान र वृद्ध दुवै बनाउन सकिन्छ। वैज्ञानिकहरूले अब यसलाई चाहेको समयमा कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने कुराको खोज गर्नु आवश्यक भएको बताएका छन्।

जेनेटिक अध्ययनकर्ता जेइ–ह्युन याङले यो परीक्षणको नतिजाले बुढ्यौलीको प्रक्रियाप्रतिको बुझाइ र बुढ्यौलीसँग सम्बन्धित रोगलाई निर्मूल पार्ने विषयमा परिवर्तन ल्याउन सक्ने औँल्याउँछन्।

मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा स्नातक तहमा पढ्दाताका नै सिनक्लेयरको समूहले यस विषयमा अध्ययन र खोजी थालेको थियो। उनको समूहले विशेषगरी इस्ट (ब्रेड बनाउँदा प्रयोग गरिने पिठोजस्तो हल्का खैरो रंगको धुलो)मा बुढ्यौली रोक्ने जिनको अस्तित्व रहेको पत्ता लगाएको थियो। जिन सबै प्राणीमा हुने र त्यसैले मानिसमा पनि एउटै तरिकाले काम गर्ने उनको विश्वास थियो। यही सिद्धान्त परीक्षणका लागि उनले उत्परिवर्तनबिना नै मुसामा छिट्टै बुढ्यौली बढाउने परीक्षण शुरू गरेका थिए।

उनी भन्छन्, “हामीले म ३९ वर्षको छँदादेखि मुसामा परीक्षण थालेका थियौँ। अहिले म ५३ वर्षको भएँ। त्यति बेलादेखि नै सो मुसामाथि अध्ययन गरिरहेका छौँ। यदि उमेर बढ्ने सूचनाको सिद्धान्त गलत हो भने कि त यो मुसा मर्थ्यो, सामान्य हुँथ्यो, बुढो हुन्थ्यो वा क्यान्सर लाग्थ्यो।”

अन्य वैज्ञानिकहरूको सहयोगमा सिनक्लेयर र हावार्डको टोलीले परीक्षण गरी पहिले मुसाको मस्तिष्कका तन्तु, आँखा, मांसपेशी, छाला र मिर्गौलाका जिनलाई वास्तविक उमेरभन्दा वृद्ध बनाएका थिए।

यसका लागि सो टोलीले आईसीई (ईन्डुसिबल चेन्जेज टु द ईपिजेनोम)को विकास गरे। मुसाको डीएनएको कोडिङ प्रणालीलाई बदल्नुको साटो आईसीईले डीएनए मोड्ने तरिकालाई परिवर्तन गर्छ। साथै, केमिकल, सूर्यको किरण र वृद्ध देखाउन मद्दत गर्ने सम्पूर्ण अवस्थाको नक्कल गरी शरीरमा असर गर्ने गर्दछ। यही प्रक्रियामा रहेर परीक्षण गरिएको एक वर्षमा मुसा दोब्बर उमेर बढेको र व्यवहार पनि त्यस्तै देखिएको थियो।

वैज्ञानिकले पहिले मुसालाई बुढो बनाए र पछि जवान बनाउने प्रक्रिया थालेका थिए। यसका लागि शरीरका कुनै पनि कोषमा भ्रूण या प्लुरिपोटेन्ट स्टिम कोषजस्तो हुन सक्ने वयस्क मानिसको छालाका कोष बनाइएको थियो। यसका तीनदेखि चारवटा मिश्रण बनाइएको थियो।

यसको घोललाई आँखा नदेख्ने मुसाको आँखाको पछाडिको भागमा सुईमार्फत पठाइएको थियो। र मुसालाई एन्टिबायोटिक खुवाइएको थियो। त्यसपछि मुसाले आँखाको अधिकांश ज्योति पाएको थियो।